कैलालीमा जेई खोप अभियान : तीन पालिकामा एक लाखभन्दा बढीले लगाए

धनगढी । कैलालीमा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणको जोखिमलाई ध्यानमा राखी सञ्चालन गरिएको खोप अभियानअन्तर्गत तीन स्थानीय तहमा मात्रै एक लाखभन्दा बढी नागरिकले खोप लगाएका छन्। स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरका अनुसार जिल्लामा लक्षित कुल १ लाख ७६ हजार ३४४ जनामध्ये हालसम्म ५३.२१ प्रतिशतले जेई खोप लगाइसकेका छन्।

हालसम्म घोडाघोडी नगरपालिकामा २९ हजार १७५, लम्कीचुहा नगरपालिकामा २७ हजार ५१० र धनगढी उपमहानगरपालिकामा ४३ हजार ८७३ जनाले खोप लगाएका छन्। यी तीन पालिकामा मात्रै १ लाख ५५८ जनाले खोप लगाएका हुन्। स्थानीय तहअनुसार घोडाघोडी नगरपालिकामा ८७.१२ प्रतिशत, लम्कीचुहा नगरपालिकामा ६९.२३ प्रतिशत र धनगढी उपमहानगरपालिकामा ४२.५५ प्रतिशत खोप कभरेज पुगेको कुँवरले बताए

कैलालीमा जेई संक्रमणका कारण घोडाघोडी नगरपालिकामा यसअघि दुई जनाको मृत्यु भएपछि संक्रमणको जोखिमलाई ध्यानमा राखेर ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको हो।

अभियान सुरुमा घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकामा असोज १ देखि ७ गतेसम्म सञ्चालन गरिएको थियो। त्यसपछि धनगढी उपमहानगरपालिकामा असोज ८ देखि २२ गतेसम्म खोप अभियान सञ्चालन भइरहेको छ। जिल्लाका बाँकी १० स्थानीय तहमा भने आगामी माघदेखि अभियान सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।

स्वास्थ्य कार्यालयका प्रमुख कुँवरका अनुसार विगतमा पनि कैलालीमा जेईविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो। २०६४/६५ सालमा धनगढीमा १५ वर्षमुनिका बालबालिकालाई खोप दिइएको थियो भने २०७३/७४सालमा पनि १५ वर्षमुनिका बालबालिकालाई जेई खोप लगाइएको थियो।

सरकारले पछिल्लो समय बालबालिकाको हक भने जन्मिएपछि नियमित खोप तालिकाअनुसार जेईविरुद्धको खोप दिने गरेको छ। त्यसले गर्दा ३० वर्षभन्दा कम उमेरका अधिकांशले यसअघि नै खोप पाइसकेका छन् । कैलालीमा जेई संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ३० वर्षभन्दा माथिका रहेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताए ।

जेई खोप गर्भवती महिलाबाहेक लक्षित उमेर समूहका अन्य व्यक्तिले लगाउन सक्ने बताइएको छ। कैलालीमा १ लाख ७६ हजार ३४४ जनालाई लक्षित गरि यो अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरले बताएका छन् ।

खोपअभियान अवधिमा खोप लगाउन छुटेका व्यक्तिहरुका लागि अभियान सकिएपछि थप व्यवस्था गर्ने वा नगर्ने विषयमा भने सरकारले अहिलेसम्म कुनै निर्णय नगरेको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ।


१४ असोज २०८३, बुधवार १७:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु