कैलाली–५ मा दुई चिकित्सकको उम्मेदवारी, फरक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका दाबेदार

धनगढी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नम्बर ५ बाट दुई चिकित्सकले फरक–फरक क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका छन्। निसर्ग अस्पतालमा कार्यरत डा. मेराज आलम अन्सारी र डा. प्रदीप मिश्रले छुट्टाछुट्टै क्लस्टरबाट उम्मेदवारी दिएका हुन्।

डा. अन्सारीले मुस्लिम/मधेसी क्लस्टरबाट उम्मेदवारी दिएका छन् भने डा. मिश्रले पेशागत विज्ञ क्लस्टरबाट उम्मेदवारी दिएका छन्। दुवै चिकित्सक स्वास्थ्य सेवासँगै कांग्रेसको संगठन तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्।

डा. मेराज आलम अन्सारी नेपाली कांग्रेसका वर्तमान प्रदेश सदस्य तथा स्वास्थ्य विभाग प्रमुख हुन्। उनी नेपाल मेडिकल एसोसिएसनका प्रदेश सचिव तथा सोसाइटी अफ सर्जन्स नेपालका प्रदेश अध्यक्षको जिम्मेवारीमा समेत छन्। चिकित्सकीय सेवासँगै पार्टी संगठन र सामाजिक गतिविधिमा समेत उनको सक्रियता रहँदै आएको छ।

त्यस्तै, डा. प्रदीप मिश्र कांग्रेसको राजनीतिसँगै सामाजिक क्षेत्रमा सक्रिय छन्। उनी प्रजातान्त्रिक चिकित्सक संघका प्रदेश संयोजकका रूपमा कार्यरत छन्। यसअघि उनी नेपाल मेडिकल एसोसिएसनको प्रदेश अध्यक्षसमेत भइसकेका छन्।

कैलाली–५ बाट एउटै पेशागत पृष्ठभूमिका दुई चिकित्सकले फरक–फरक क्लस्टरबाट उम्मेदवारी दिएपछि कांग्रेसको महाधिवेशनमा उनीहरूको उम्मेदवारी चर्चामा आएको छ। दुवै जनाले स्वास्थ्य क्षेत्रको अनुभवसँगै पार्टी संगठन र सामाजिक क्षेत्रमा आफ्नो सक्रियतालाई प्रतिनिधित्वको आधार बनाएका छन्।

उनीहरूको उम्मेदवारीले कांग्रेसको महाधिवेशनमा स्वास्थ्य तथा पेशागत क्षेत्रबाट पार्टी संगठनमा सक्रिय सहभागिताको विषयलाई समेत जोडेको छ। अब दुवै उम्मेदवार आ–आफ्नो क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका रूपमा चयन हुन प्रतिस्पर्धामा छन्।


११ असोज २०८३, आइतवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु