सुदुरपस्चिममा आइतबार पनि वर्षा, सतर्क रहन आग्रह
धनगढी। सुदूरपश्चिमका विभिन्न क्षेत्रमा शुक्रबारदेखि लगातार वर्षा भइरहेको छ। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रबाट आएको जलवाष्पयुक्त हावा पश्चिमतर्फ फैलिँदा प्रदेशमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले जनाएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढेको भए पनि हालसम्म कुनै पनि नदी चेतावनीको तहभन्दा माथि पुगेका छैनन्। जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख सञ्जयकुमार शाहका अनुसार आइतबार दिउँसोसम्म सुदूरपश्चिममा वर्षा हुने सम्भावना रहेको छ।
शाहका अनुसार कैलाली, कञ्चनपुर, डोटी, डडेल्धुरा र अछामका केही भूभाग जोखिमयुक्त अवस्थामा छन्। बैतडी, दार्चुला, बझाङ, बाजुरा र अछामका अधिकांश भूभागमा भने जोखिमको अवस्था कायम रहेको उनले बताए।
पछिल्लो २४ घण्टामा अछाममा १५६ दशमलव ८ मिलिमिटर वर्षा भएको छ। अत्तरिया–धनगढी क्षेत्रमा १६५ मिलिमिटर तथा भजनी–टीकापुर क्षेत्रमा १४० देखि १४५ मिलिमिटरसम्म वर्षा भएको शाहले जानकारी दिए।
लगातारको वर्षाका कारण चुरे तथा पहाडी क्षेत्रमा पहिरोको जोखिम बढेको छ। कर्णाली, पथरैया, काडा, मोहना, कुम्रा र खुटिया नदीमा पानीको सतह बढे पनि चेतावनीको तह पार गरेको छैन।
कञ्चनपुरका केही नदी भने चेतावनीको तह नजिक पुगेका छन्। दोदा नदी तथा दोधारा–चाँदनीको जोगबुडा नदी आसपास केही डुबानसमेत भएको शाहले बताए।
लगातार वर्षा भइरहेकाले नदी–नालामा पानीको सतह अझै बढ्न सक्ने भन्दै आइतबार दिउँसोसम्म सतर्क रहन उनले आग्रह गरेका छन्। हाल वर्षाको मात्रा क्रमशः कम हुँदै गएकाले ठूलो बाढी आउने सम्भावना भने कम रहेको उनको भनाइ छ।
११ असोज २०८३, आइतवार ११:४३ बजे प्रकाशित














