बेलौरी–बेल्डाँडी सडक खण्डको पचुँइमा कालोपत्र गर्न भारतीय अवरोध

कञ्चनपुर। कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुँइका वुद्धिराज चौधरीलाई यहाँ बसोबास गरेको पाँच दशकभन्दा बढी भयो। डोकेबजार–दैजी हुलाकी सडक खण्डको पचुँइ गाउँमा एक हजार ४०० मिटर सडकमा भारतीय सीमा सुरक्षा बलका अधिकारीले ग्राइभेल हाल्न अवरोध गर्न थालेपछि उनलाई चित्त बुझेको छैन।

विसं २०७३ फागुनमा डोकेबजारदेखि बेदकोट नगरपालिकाको दैजीसम्मको ६४ किलोमिटर हुलाकी सडक कालोपत्र गर्न तीन वटा प्याकेजमा ठेक्का दिइएको थियो। बिचको प्याकेज (दोस्रो प्याकेज) मा पर्ने बेलौरी–बेल्डाँडी खण्डको पचुँइमा  भारतीय सुरक्षाकर्मीले उक्त खण्ड नेपाल–भारत सीमाना दशगजामा पर्ने भन्दै निर्माणमा अवरोध गर्दै आएका छन्। “सो क्षेत्रमा नेपाल–भारत सीमा स्तम्भ नं ३८ पर्छ”, चौधरीले भनिन्, ”स्थानीय सुतिया खोलालाई लामो समयदेखि सीमा मान्दै आएका छौँ। हुलाकी खण्डभन्दा पर र सुतिया खोलाभन्दा वर हाम्रो करिब २० बिघामा उखु खेती पनि छ।”

सुतिया खोलाभन्दा वर नेपालीले उखु खेती गरिरहेको भए पनि त्यस वर (नेपालतर्फ) हुलाकी सडक खण्ड पर्छ। नेपालीले लामो समयदेखि उखु खेती गर्दै आए पनि कुनै समस्या छैन, तर भारतीय पक्षले हुलाकी सडक निर्माण सुरु भएयता भने सडक दशगजामा पर्ने दाबीसहित निर्माणमा अवरोध गरिरहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले बताए।

“निर्माण व्यवसायीले लापरबाही गरेपछि दोस्रो प्याकेज पुनः टेण्डर गर्ने तयारीमा छौँ”, उनले भने, “सोही खण्डमा भारतले दशगजालगायतमा सीमा विवाद गर्दा पचुँइ क्षेत्रमा एक हजार ४०० मिटर खण्ड कालोपत्र गर्न सकिएको छैन। अब त्यो भाग छोडेर काम अघि बढाउने योजना छ।” सो क्षेत्रमा विवाद बढेपछि स्थानी तहदेखि स्थानीय प्रशासनसम्मले सुल्झाउन प्रयास गर्दैआएको छ। तर अझै निश्र्कषमा पुग्न नसकिएको प्रमुख लामिछानेले बताए।

पचुँइका स्थानीय मानबहादुर चौधरीले सदियौँदेखि नेपाली भूमिमा पर्ने हुलाकी सडक निर्माणमा भारतीय पक्षले बिना कारण बाधा गर्दै आएको बताए। “हुलाकी सडक कालोपत्र गर्न थालेपछि सो क्षेत्रमा कडाइ गरिएको छ, ग्राइभेल हालेर खाल्डाखुल्डी पुर्नसमेत भारतीय सुरक्षाकर्मीले दिएका छैनन्”, उनले भने। उनले उक्त खण्डमा कालोपत्र गर्न माथिल्लो तहबाट कुटनीतिक पहल जरुरी रहेको बताए। हुलाकी सडकअन्र्तगत पहिलो र तेस्रो प्याकेज निर्माण भइसके पनि दोस्रो प्याकेज भने नौ वर्ष बितिसक्दा पनि निर्माण कम्पनीको लापरबाहीका कारण बन्न सकेको छैन।


२ भदौ २०८३, मंगलवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु