सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन्।
एमालेले गत ३१ असारमा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका हुन्। विश्वासको मत प्रयोजनका लागि प्रदेशसभा बैठक बोलाइदिन शाहले सचिवालयलाई पत्राचार गरेपछि सभामुख भीमबहादुर भण्डारीले आज साँझ ५ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन्।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको हो।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेपाली कांग्रेसका १८ सांसद मात्रै मुख्यमन्त्री शाहको पक्षमा छन्। कांग्रेसका सांसद प्रकाश देउवा भने हाल अमेरिकामा रहेका छन्।
मुख्यमन्त्री शाहले थप सांसदको समर्थन जुटाउन नसके विश्वासको मत प्राप्त गर्ने सम्भावना न्यून देखिएको छ। स्रोतका अनुसार शाहले प्रदेशसभामा सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने र त्यसपछि प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।
मुख्यमन्त्री शाहले राजीनामा दिएपछि प्रदेशमा नयाँ सरकार गठनका लागि सुदुरपश्चिममा नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) बिच सहमति भएको छ । सत्ता गठबन्दनका लागि दुई दल बीच भएको सहमति अनुसार नेकपाबाट खगराज भट्ट मुख्यमन्त्री बन्ने छन् ।


२८ साउन २०८३, बिहीवार ०९:०५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु