कैलालीमा ३३ लाखभन्दा बढीको भन्सार छलीको सामान बरामद

धनगढी । कैलालीमा प्रहरीले भन्सार छली गरी ल्याइएको करिब ३३ लाख १४ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भारतबाट भन्सार छली गरी ल्याइएको उक्त सामान सोमबार कैलारी गाउँपालिका–४ स्थित क्षेत्रबाट प्रहरीले बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा सामान फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार बरामद सामानमा विभिन्न प्रकारका मोबाइलका पार्टपुर्जा, चिनी र डोरी लगायतका सामग्री रहेका छन्। ती सामानहरू बेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय, कैलाली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
२६ साउन २०८३, मंगलवार १२:१० बजे प्रकाशित














