बजेट दलाल र बिचौलिया केन्द्रित भयो, यथास्थितिमा पारित हुँदैन : नेकपा

धनगढी । सुदूरपश्चिम प्रदेशको प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट यथास्थितिमा पारित हुन नसक्ने जिकिर गरेको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका नेता खगराज भट्टले प्रदेश सरकारले ल्याएको बजेट इतिहासकै कमजोर, अपारदर्शी र जनविरोधी रहेको बताए । बजेटलाई ‘दलाल र बिचौलिया केन्द्रित’ भएको उनको आरोप छ ।

उनले बजेटमा सामान्य संशोधन गरेर सुधार गर्ने अवस्था नरहेको भन्दै खारेज गरेर नयाँ बजेट ल्याउनुपर्ने बताए। ‘यो बजेट पुनर्लेखन गर्ने होइन, खारेज गर्नुपर्छ । टालटुल गरेर सुधार गर्ने अवस्था छैन, बजेटमा ठूलो भ्वाङ परेको छ, ’ भट्टले भने ।

उनले बजेट मध्यरातमा ल्याइएको उल्लेख गर्दै यसले प्रदेशवासीलाई निराश बनाएको बताए। ‘इeतिहासमै पहिलो पटक यति खराब बजेट आएको छ। अहंकारी ढंगले बजेट ल्याइएको छ। सिंगो सुदूरपश्चिम स्तब्ध र आक्रोशित छ, ’ उनले आरोप लगाए।

उनका अनुसार बजेट सुशासन, पारदर्शिता, समानता तथा दिगो विकासका लक्ष्यविपरीत रहेको छ भने कार्यकर्ता र बिचौलियालाई पोस्ने उद्देश्यले तयार गरिएको छ। ‘मुख्यमन्त्री र केही आसेपासेबाहेक कसैको हितमा यो बजेट छैन, ’ उनले भने।

भट्टले बजेट निर्माण प्रक्रियामा समेत प्रश्न उठाउँदै विभिन्न मन्त्रालयमार्फत आउने योजनाहरू मुख्यमन्त्री कार्यालयमा होटल तथा गोप्य स्थानमा ‘सुटकेस बोकेर’ समावेश गरिएको भन्ने गुनासो आएको बताए। उनले एउटै योजना विभिन्न शीर्षकमा दोहोरिएको, मापदण्डविपरीत साना योजना समावेश गरिएको तथा एक मन्त्रालयले कार्यान्वयन गर्नुपर्ने योजना अर्को मन्त्रालयमा राखिएको आरोप लगाए।

उनले संसदमा ३७ अर्ब ६० करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको भए पनि कागजातमा फरक रकम देखिएको दाबी गरे। साथै, २५ लाख रुपैयाँभन्दा कमका योजना नराख्ने भनिए पनि थुप्रै साना योजना समावेश गरिएको बताए।

मुख्यमन्त्रीको निर्वाचन क्षेत्रमा मात्रै २ करोड ५० लाख रुपैयाँभन्दा बढीका योजना राखिएको दाबी गर्दै उनले बजेट वितरणमा पक्षपात गरिएको आरोप लगाए। पत्रकार सम्मेलनमा नेकपा संसदीय दलका उपनेता प्रकाश रावलले पनि बजेट उपयुक्त नभएको भन्दै आफूहरूले बजेट प्रस्तुतिकरणको क्रममा बहिष्कार गरेको बताए। उनले सरकारले अपूर्ण बजेट ल्याएर ‘झारो टार्ने’ काम गरेको आरोप लगाए।
नेकपाले प्रदेश सभाका सबै सदस्यलाई बजेट असफल बनाउन आग्रह गर्दै यथास्थितिमा बजेट पारित हुन नदिने स्पष्ट गरेको छ।


५ असार २०८३, शुक्रवार १३:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु