सिन्धुली प्रहरी हिरासतमा युवा मृत्यु प्रकरण छानबिन गर्न डीआईजी नेतृत्वको समिति गठन
काठमाडौं । प्रहरीले सिन्धुलीस्थित इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा एकजना युवकको मृत्यु भएको घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा निवासी २३ वर्षीय श्रीकृष्ण बिकको हिरासतमा उपचारका क्रममा मृत्यु भएपछि तथ्यगत र वस्तुनिष्ठ छानबिनका लागि समिति बनाइएको हो। बिकलाई जबरजस्ती करणी मुद्दामा अनुसन्धानका क्रममा सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखिएको थियो।
यही क्रममा २०८३ वैशाख ७ गते साँझ करिब ५स्५९ बजे उनले हिरासत कक्षको शौचालयमा आफ्नै सर्ट प्रयोग गरी पासो लगाएको अवस्थामा भेटिएको प्रहरीको प्रारम्भिक विवरणमा उल्लेख छ। घाइते अवस्थामा उनलाई उपचारका लागि लगिए पनि मृत्यु भएको जनाइएको छ।
घटनाको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ। समितिमा प्रहरी उपरीक्षक रवीन्द्रनाथ पौडेल, प्रहरी निरीक्षक इन्द्रजित सुनार, प्रहरी निरीक्षक प्रेम रेग्मी र प्रहरी नायव निरीक्षक राजेश्वर सापकोटा सदस्य रहेका छन्। समितिलाई ७ दिनभित्र छानबिन सम्पन्न गरी प्रतिवेदन पेश गर्न निर्देशन दिइएको प्रहरीले जनाएको छ।

११ वैशाख २०८३, शुक्रवार १६:१६ बजे प्रकाशित













