देउवा, ओली र प्रचण्डसँग प्रधानमन्त्री कार्कीको आग्रह- स्थिर र दिगो लोकतन्त्रका लागि चुनाव सफल पारौं
प्रधानमन्त्री सुशीला कार्कीले स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पार्न आग्रह गरेकी छिन् । तीन दलका शीर्ष नेतासँग शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा उनले कुनै अलमल नगरी चुनावमा केन्द्रित बन्न र सफल पार्न आग्रह गरेकी हुन् ।
अब कुनै अलमल नगरी राष्ट्रको भविष्य सम्झेर स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका लागि चुनाव सफल पारौं, उनले भनिन्, यो हामी सबैको जिम्मेवारी हो । यत्ति अनुरोध गर्न मैले यहाँहरूलाई आज निम्ता गरेकी हुँ। छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड छन् ।
तीन दलका शीर्ष नेतासँग शनिबार दिउँसो बालुवाटारमा भएको छलफलमा उनले कुनै अलमल नगरी चुनावमा केन्द्रित बन्न र सफल पार्न आग्रह गरेकी हुन् । आफ्नो निमन्त्रणलाई स्वीकारेर छलफलमा आएकोमा पनि उनले तीनै जना नेतालाई धन्यवाद दिइन् ।
राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम सरकारले चुनावको तयारी गरिरहेका उनले बताइन् । यो घर तपाईंहरूकै हो । म त न्याय क्षेत्रको मान्छे । राष्ट्रपतिज्यूबाट चुनाव गराउने कार्यादेश पाए बमोजिम हामी चुनावको तयारी गरिरहेका छौं, उनले भनिन् ।
प्रशासनिक काम–कारबाहीबाट अलग भएर निर्वाचनकै तयार आफू रहेको उनले जानकारी दिइन् । रक्षाबाहेक मसँग रहेका सबै मन्त्रालय अन्य मन्त्रीलाई जिम्मा लगाइसकेको छु, उनले भनिन्, मैले यहाँहरूलाई बोलाएर बिन्ती गर्न खोजेको के भने यो निर्वाचन जसरी पनि सफल पारौं ।
निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन उपलब्ध गराएर आवश्यक स्रोतसाधनको व्यवस्था गरिएको उनले बताइन् । सुरक्षाकर्मीको मनोबल बढेको कुरा त यहाँहरूले पनि महसुस गर्नुभएकै होला । हामी निर्वाचनमै केन्द्रित भएर काम गरिरहेका छौ, उनले भनिन् ।
१२ पुस २०८२, शनिवार १७:१६ बजे प्रकाशित













