छहरा झरनामा जोरायल–चुरे गाउँपालिकाबीच समन्वय बैठक सम्पन्न

डोटी। डोटीको जोरायल गाउँपालिका र कैलालीको चुरे गाउँपालिकाबिचको संयुक्त अन्तर स्थानीय तह कार्यपालिका समन्वय बैठक सोमबार सम्पन्न भएको छ ।
जोरायल गाउँपालिका–२ स्थित प्रसिद्ध पर्यटकीय स्थल छहरा झरनामा बैठक सम्पन्न भएको हो ।
दुवै गाउँपालिकाबिचको अघिल्लो आर्थिक वर्षमा भएको समन्वयात्मक बैठकको निर्णय कार्यान्वयनको समिक्षा गर्दै कार्यान्वयन हुन बाँकी विषयलाई आगामी दिनमा प्रभावकारी रूपमा अगाडि बढाइने निर्णय भएको छ । अघिल्ला बैठकमा गरिएका निर्णयहरूको पुनरावलोकन गर्दै आवश्यक नीति तथा रणनीति अपनाउँदै सहकार्यलाई संस्थागत गर्नेमा बैठकमार्फत जोड दिइएको छ ।

दुवै गाउँपालिकाको साझा हित र विकासका प्राथमिकतालाई ध्यानमा राख्दै संघीय तथा प्रदेश सरकारलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउने पनि समझदारी भएको छ ।

यसैगरी स्थानीय प्राकृतिक स्रोत तथा सम्भावनाको संरक्षण र उपयोगका लागि छहरा झरनालाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा पनि गहन छलफल भएको छ । छहरा झरनाको प्रचार–प्रसार गर्न विभिन्न माध्यम प्रयोग गर्ने, आवश्यक पूर्वाधार निर्माणमा पहल गर्ने र आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका कार्यक्रमहरू सञ्चालन गर्ने सहमति भएको हो।
बैठकले सिमावर्ती क्षेत्रमा रहेका आधारभूत आवश्यकता सम्बोधन गर्ने योजनाहरू आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी साझेदारीमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
जस अन्तर्गत जोरायल–४ र चुरे–३ को सिमामा पर्ने शान्तीनगर क्षेत्रको दोहोरो बस्तीमा खानेपानी व्यवस्था सुधार गर्ने योजना तथा जोरायल–२ र चुरे–३ को कमला नदी किनारमा रहेको बस्तीसम्म पुग्ने सडकको स्तरोन्नति कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ।

बैठकमा बोल्दै जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सीमावर्ती क्षेत्रको समुचित विकास गर्न दुवै पालिकाले साझा सोच र सहकार्यको बाटो रोज्नु अत्यावश्यक भएको भन्दै बैठकले आपसी विश्वास र समन्वयलाई अझ मजबुत बनाएको बताए ।
यस्तै चुरे गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटी रजवारले दुई पालिकाले विकासको गति सँगसँगै अघि बढाउने र सीमावर्ती क्षेत्रका जनताको आवश्यकता बुझेर साझा काम गर्न बैठकले नयाँ दिशा दिएको बताए ।
साझा योजना र कार्यक्रममार्फत शिक्षा, स्वास्थ्य, महिला सशक्तिकरण र सामाजिक सेवामा समेत प्रभावकारी काम गर्न सकिने जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताइन् ।
दुई पालिकाको सीमावर्ती बस्तीहरूमा पूर्वाधार र सेवामा पहुँच बढाउन देखिएका चुनौती समाधान गर्न साझेदारी उपयोगी हुने र नागरिक सहभागिता एवं पारदर्शिता सुनिश्चित गर्दै अघि बढ्नुपर्ने चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापाले बताइन् ।

जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाको अध्यक्षता एवं चुरे गाउँपालिका अध्यक्ष चक्र बहादुर बोगटी रजवारको बिशेष आतिथ्यतामा सम्पन्न बैठकमा जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा, चुरे गाउँपालिका उपाध्यक्ष धना देवी थापा, जोरायल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्ट, चुरे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कालीप्रसाद भट्ट, दुवै गाउँपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकार तथा स्थानीयबासिन्दाको समेत उल्लेखनीयसहभागितरहेकथियो।

 


३१ असार २०८२, मंगलवार १०:५२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु