लगानी सम्मेलनको प्रि–समिट धनगढीमा सुरु

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनका लागि पूर्वतयारीस्वरूप प्रि–समिट धनगढीमा सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा बुधबारदेखि प्रि–समिट सुरु भएको हो।

मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भइरहेको प्रि–समिटको प्रमुख अतिथिको रूपमा परराष्ट्रमन्त्री डा. आरजु राण देउवा छिन्। यसका साथै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको पनि उपस्थिति छ।
प्रदेशको प्रचुर प्राकृतिक स्रोत, अपार सांस्कृतिक सम्पदा रणनीतिक भौगोलिक अवस्थिति, पर्याप्त आर्थिक विकासको सम्भावनालाई उजागर गरी रुपान्तरणकारी आर्थिक वृद्धि हासिल गर्ने उद्देश्य परिपूर्तिका लागि प्रदेश सरकारबाट प्रथम लगानी सम्मेलन आयोजना गर्न लागिएको हो।

सम्मेलनमा संघीय, प्रदेश र स्थानीय तहका सरकार, बहुपक्षीय तथा द्विपक्षीय विकास साझेदार संस्था, मित्र राष्ट्रहरू, व्यवसायिक प्रतिष्ठानहरू, स्वदेशी तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरू, नीति निर्माता, लगानीकर्ता, व्यवसायिक नेतृत्व, बैंक तथा वित्तीय संस्था, एनआरएनएका अग्रणीहरू, उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, उद्योग परिसंघ, लगानी विद्, विषय विज्ञ, अनुसन्धानमूलक संस्था, स्थानीय उद्यमी, स्टार्टअप उद्यमीलगायतका सरोकारवालाहरू तथा मिडियाकर्मीको सक्रिय सहभागिताका हुने मुख्यमन्त्री शाहले बताए।

सम्मेलनमा उद्योग, खानी, खनिज, शिक्षा तथा स्वास्थ्य, पूर्वाधार तथा यातायात, कृषि तथा जडिबुटी, उर्जा, सञ्चार प्रविधि र पर्यटनलगायतका क्षेत्रहरूमा लगानी प्रवद्र्धनको वातावरण निर्माण गर्न सरकारी, निजी र सहकारी क्षेत्र बीचको साझेदारीलाई सशक्त बनाई लगानी वृद्धि र नविन व्यवसायिक सक्रियता मार्फत समृद्धि, विकास र रोजगारीका अवसर अभिवृद्धि गर्नका लागि वातावरण सृजना गर्ने लक्ष्य लिइएको छ।

‘सुदूरपश्चिमको सशक्तीकरण : लगानी, नवप्रवर्तन र उन्नति’ मूल नाराका साथ सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन असोज १ र २ गते आयोजना गर्दैछ।


२१ जेठ २०८२, बुधवार १३:५७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु