धनगढीमा भव्यरूपमा मनाइयो गणतन्त्र दिवस

धनगढी। कैलालीको धनगढीमा १८औँ गणतन्त्र दिवस भव्यरूपमा मनाइएको छ।

सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँको प्रमुख आतिथ्यतामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १८औँ गणतन्त्र दिवसको कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो।

मुख्यमन्त्री कमलबहादुर शाह, पूर्व मुख्यमन्त्रीहरू, प्रदेश सरकारका मन्त्री तथा सांसदहरूको उपस्थितिमा गणतन्त्र दिवस मूल समारोह कार्यक्रम सम्पन्न भएको हो।

धनगढी सहिद गेटबाट सहिदको सालिकमा माल्यार्पण गर्दै सुरु भएको प्रभातफेरी आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पुगेर भव्य समारोहमा परिणत भएको थियो।

२०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ।

संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्व मञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।

जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले नागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ।

लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ।

विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ।

 


१५ जेठ २०८२, बिहीवार ११:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु