कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा सामाजिक संस्थाहरूलाई आर्थिक सहयोग

कञ्चनपुर। कञ्चनपुर उद्योग वाणिज्य संघले सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको नाफाबाट विभिन्न सामाजिक संघसंस्थालाई आर्थिक सहयोग प्रदान गरेको छ। बिहीबार महेन्द्रनगरस्थित एक विशेष समारोहमा संघले पाँचवटा संस्थालाई कुल ३ लाख ८९ हजार २५० रुपैयाँको चेक हस्तान्तरण गरेको छ।

संघका महासचिव खगेश्वर बोहराले मेलाको आयबाट सामाजिक कार्यका लागि पहिल्यै घोषणा गरिएका संस्थाहरूलाई सहयोग वितरण गरिएको जानकारी दिए। उनका अनुसार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखालाई ६०,७१३ रुपैयाँ, भीमदत्त नगरपालिका-८ भम्केनीमा नेपाल आमाको मूर्ति निर्माणका लागि २,३२,५३७ रुपैयाँ, महाकाली अञ्चल बाल अनाथालयलाई ५१,००० रुपैयाँ, र राधाकृष्ण मन्दिर तथा शिवधामलाई क्रमशः २५,०००/२५,००० रुपैयाँ सहयोग प्रदान गरिएको छ।

कार्यक्रममा संघका अध्यक्ष पिताम्बर जोशीले नेपाल पत्रकार महासंघका अध्यक्ष सुरेश सिह धामी, भम्केनी धामका अध्यक्ष जनक राज जोशी र बरपिपलका अध्यक्ष ऋर्षिराम खरेललाई चेक हस्तान्तरण गरे। अध्यक्ष जोशीले भने, “हाम्रो मेला-महोत्सवको उद्देश्य व्यापार प्रवर्द्धनसँगै सामाजिक विकासमा योगदान पुर्‍याउनु हो।

यो सहयोगले स्थानीय पत्रकारितालाई बलियो बनाउन, सांस्कृतिक सम्पदाको संरक्षण गर्न र समाजका कमजोर वर्गको उत्थानमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा उपस्थित स्थानीय अगुवाहरूले कञ्चनपुर उद्योग वाणिज्य संघको यो प्रयासको प्रशंसा गरेका छन्।

 


१८ वैशाख २०८२, बिहीवार १८:५३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु