अबदेखि झाडापखालाका बिरामीको पनि कोरोना परिक्षण हुने
काठमाडौं ,१८ साउन ।सरकारले अब देखि झाडापखालाका बिरामीहरुको पनि कोरोना भाइरसको परीक्षण गर्ने भएको छ। यसअघि ज्वरो, खोकी, स्वासप्रस्वासमा समस्या, वास्ना र स्वाद थाहा नपाउने जस्ता लक्षण भएका व्यक्तिको मात्र परीक्षण हुने गरेको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड-१९ टेस्टिङ’ सम्बन्धी मापदण्ड परिमार्जन गर्दै उक्त निर्णय गरेको हो। यस्तै, संक्रमण फैलिएको ठाउँबाट आएको १४ दिन भएका व्यक्तिहरूका साथै हवाइ मार्ग र स्थल मार्ग भएर विदेशबाट आउनेको पनि परीक्षण हुने भएको छ।
र फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीहरूको पनि परीक्षण गर्ने मापदण्डमा उल्लेख छ । अब देखि पिसिआर र आरडिटी विधि प्रयोग गरेर कोरोना परिक्षण गर्ने मन्त्रालय द्वारा जारी मापदण्डमा उल्लेख गरिएको छ ।
यसअघि मन्त्रालयले आरडिटी परीक्षण स्थगित गर्ने निर्णय गरेको थियो। तर अहिले प्रयोग गर्ने भनेको आरडिटी भने ‘एन्टिजेन’ हो। यो किट दुई प्रकारको हुन्छ। एउटा एन्टिबडी र अर्को एन्टिजेन।
एन्टिबडीले शरीरमा संक्रमण भएपश्चात भाइरसविरूद्ध लड्ने एन्टिबडी बन्यो/बनेन भनेर पत्ता लगाउँछ भने एन्टिजेनले संक्रमण नै छ या छैन भनेर पत्ता लगाउछ ।

१८ साउन २०७७, आइतवार ०८:४६ बजे प्रकाशित































