कविता:- अड्किएका हामी

हजारौँ रहरहरु
सयौँ सपनाहरु
दर्जनौँ अभिलाषाहरु,
मुटुमा अड्काएका छौ पेटको लागि ।

स्वाभिमान अडकाएका छौँ
पचासौं तलामा काम गर्दा ज्यान अडकाएका छौं
दिनभरको थकान सहन नसकी
कतिले  त सास नै अडकाएका छौँ परिवारको लागि।

यि नयनहरुमा अभावको बिगत अड्काएका छौं
सन्तानको माया अड्काएका छौँ
साहुको ऋण अड्काएका छौं,
केबल नअड्काएका त
नेता र मन्त्री पाल्ने रेमिटेन्स मात्रै हो।

जसरी तिमी भारी सितै
अड्कियौ कर्णालिको पुलमा
र सँगैका तिम्रा केही
सहयात्रीहरुले हृदयमा सास अड्काए
त्यस्तै हो प्रदेसीको जीवनमा पनि
नियतिले कर्तब्यका ठुला ठुला भारी बोकाएर
बाध्य बनाएको छ प्रदेसको तातो बालुवामा नाङ्गा पैतालाले कुद्न।

संसारकै अग्लो चुचुरो भएको देशमा
सयौं भिउ टावर बनाउने पैसाले
कर्णालीमा पक्की पुल बनाईदिएको भए
अकालमा ज्यान जाने थिएन।

कतिले अल्नो खाए होलान,
कतिले भोकै बस्नु परेको होला
कतिले सिटामोल नपाएर मृत्यु वरण गरे होलान केबल तिम्रो अनुपस्थितिमा।

प्रिय खच्चड!
यदि अर्को जन्म पायौं भने
तिमी जन्मिनु नपरोस् खच्चड भएर
र म प्रदेसी भएर !!

“सडक”


२८ जेठ २०८१, सोमवार १८:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु