सुदूरपश्चिम सरकारविरुद्धको मुद्दा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै
धनगढी । सुदूरपश्चिम प्रदेश सरकार गठनविरुद्धको मुद्दा आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।
गत मंगलबार सर्वोच्च अदालतको संयुक्त इजलासले तीन वा सो भन्दा धेरै न्यायाधीशहरुले सुनुवाइ गर्ने गरी पूर्ण इजलासमा पठाउने आदेश गरेको थियो ।
आज त्यसको पूर्ण इजलासमा सुनुवाइ हुने भएको हो । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा वैशाख ९ गते रिट दायर भएको थियो ।
एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन् ।
मंगलबार भएको पेशीमा न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको इजलासले यो विवादलाई पूर्ण इजलासमा पठाएको थियो ।
२७ वैशाख २०८१, बिहीवार १२:३५ बजे प्रकाशित













