मुस्ताङको कागबेनीमा बाढीले १५ घर,प्रहरी चौकी र पुल बगायो
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनीमा आइतबार साँझ आएको बाढीले ठूलो मात्रामा भौतिक संरचनामा क्षति पुर्याएको छ । कागबेनी गाउँमाथिको मुक्तिनाथ शीर हुँदै झर्ने शाखा नदी पहिरोका कारण थुनिएपछि आएको बाढीले ठुलो क्षति पुर्याएको हो।
अविरल वर्षासँगै आएको बाढीले १५ घर , प्रहरी चौकी भवन, वडा कार्यालय लगायत पूरै बगाएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जनाएको छ ।
बाढीका कारण कागबेनी खोलाको दक्षिण पूर्वमा रहेका घरहरु रहेको स्थान पुरै बगरमा परिणत भएको छ।
बाढीले कागबेनी गाउँभित्र रहेका अस्थायी काठेपुल र जोमसोम—कोरला जोड्ने निर्माण सम्पन्न हुने क्रममा रहेको पक्की पुल समेत बगाएको छ। यसैगरी बाढीले होटलमा पार्किङ गरी राखिएका २ वटा गाडी समेत बगाएको बताइएको छ।
कागबेनीमा आइतबार साँझ ठाँडो मुक्तिनाथ कागखोला थुनिएको थियो। जोखिम बढेपछि त्यहाँका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार कागबेनीमा आएको बाढीले मानवीय क्षति नभएपनि ठूलो मात्रामा भौतिक क्षति भएको र क्षतिको विवरण संकलन गर्ने तयारी भइरहेको छ । साथै सुरक्षा निकाय र सरोकारवाला टोली उद्धारका लागि खटिएका छन्।
२९ साउन २०८०, सोमवार ०८:४७ बजे प्रकाशित













