एकतर्फी रुपमा सञ्चालनमा आयो अवरुद्ध भीमदत्त राजमार्ग

धनगढी । अवरुद्ध रहेको भीमदत्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । साउन २१ गते राती देखि परेको अविरल बर्षाका कारण अवरुद्ध रहेको राजमार्ग आज आइतबार बिहानबाट एकतर्फी रुपमा सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय कंचनपुरका सूचना अधिकारी पीयूष चटौतले सडक एकतर्फी मात्र संचालनमा ल्याउन सकिएको जानकारी दिए ।

अविरल वर्षापछि आएको पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक अवरुद्ध भएको थियो ।

सडक विभाग,सुरक्षाकर्मी र स्थानीयहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत सम्भार र एकतर्फी सञ्चालन भए पनि दोहोरो यातायात भने यो बर्षाको समयमा गर्न नसकिने चटौतले बताए ।

उनले भने ‘नयाँ ट्र्याक  खालेको ठाउँमा माटो गिलो र पानी जम्ने भएका कारण दुई तर्फी बाटो संचालन गर्न कठिनाइ भएको छ । जमिन धेरै गिलो छ, ढुंगा माटो हालेर ट्रयाक खोलिएको भए पनि दोहोरो  संचालन हुन भने समय लाग्ने छ ।’

उनका अनुसार तराइ झर्ने सवारी साधनहरु सजिलै पार भैरहेका भए पनि पहाडी जिल्ला जाने सवारी साधनहरु संचालनमा भने अझै सहज हुन सकेको छैन ।

अवरुद्ध बनेको राजमार्गको १०० मिटर जति सडक खण्डमा पहाडी जिल्ला जाने सवारी साधनलाई केही असहज हुने चटौतले बताए ।

 


२८ साउन २०८०, आइतवार १९:१९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु