दार्चुला शैल्यशिखरका निमित्त हाकिम विष्ट, इन्जिनियरसहित सात जनाविरुद्ध २६ लाखको भ्रष्टाचार मुद्दा दायर
दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रबहादुर विष्टसमेत सात जना विरुद्ध अख्तियार दुरुपयो अनुसन्धान आयागले आज विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
नगरपालिकाको ६ नम्बर वडाको मौरीभिटादेखि ७ नम्बर र ८ नम्बर वडाको बन्तली बोहरीगाउँ जाने सडक निर्माण गर्दा कडा चट्टानको भाग बढी देखाएर झुट्टा बिल भर्पाई बनाई भुक्तानी दिएर भ्रष्टाचार गरेको दावीसहित अख्तियारले आज अदालतमा आरोपपत्र दायर गरेको हो। आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा सो सडक निर्माणको वास्तविक लागतभन्दा २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा अतिरिक्त भुक्तानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारका प्रवक्ता भोला दाहालले मुद्दा दायर भएकोबारे रिटमार्फत जानकारी गराएका हुन् । विष्ट अहिले पनि निमित्त प्रमुख प्रशासकीय अधिकृतकै रूपमा कार्यरत छन् ।त्यस्तै,अख्तियारले सो नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेयलाई सोही सडकको गलत मूल्यांकन गरी बढी भुक्तानी दिन सिफारिस गरेको आरोपसहित ११ लाख ३० हजार दुई सय ६२ रुपैयाँ ६७ पैसा बिगो असुल गरी कैद र जरिवानाको मागदावी गरेको छ ।
त्यस्तै, अख्तियारद्वारा दायर आरोपत्रमा नगरपालिकाका तत्कालिन इन्जिनियर राजेन्द्रसिंह धामीबाट १४ लाख ७२ हजार दुई सय ८३ रुपैयाँ ४३ पैसा बिगो तथा कैद र जरिवानाको मागदावी गरेको छ ।नगरपालिकाका सबओभरसियर दिपकसिंह विष्टबाट भ्रष्टाचार भएको रकम २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसाको बिगो तथा कैद र जरिवाना माग गरिएको छ ।सो सडक निर्माणका लागि गठित उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी र कोषाध्यक्ष जानकी वडूबाट २६ लाख दुई हजार पाँच सय ५६ रुपैयाँ ११ पैसा बिगो असुल गरी कैद र जरिवाना गर्न अख्तियारले मागदावी गरेको छ ।
११ साउन २०८०, बिहीवार १५:४० बजे प्रकाशित































