गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आज सुदूरपश्चिम बन्द
कैलाली । कैलालीको गेटामा शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग गर्दै आज सुदूरपश्चिम बन्द गरिएको छ ।
२०७९ साल माघ २९ गतेको मन्त्रीपरिषद् बैठकले गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, सरकारले १०० शय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममा आन्दोलन सुरु गरिएको हो ।
६ अर्बको लागतमा ४२ वटा भवन निर्माण हुँदा पनि सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन ध्यान नदिएपछि बाध्य भएर आम हड्ताल गरिएको शहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सहसंयोजक आनन्द भट्टले जानकारी दिए ।
उनका अनुसार आज यातायात, बजार, उद्योग कलकारखाना, विद्यालय पूर्ण रुपमा बन्द गरिएको छ । अति आवश्यक सवारी साधनमा भने रोक नलगाइने भट्टले जानकारी दिए । स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन दबाब दिन आह्वान गरिएको बन्दका कारण धनगढीबाट छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन् ।
यस अघि शालीन आन्दोलन गर्दै आइरहेको संघर्ष समितिले आज आम हड्तालको आह्वान गरेको हो ।
२८ जेठ २०८०, आइतवार ०७:२२ बजे प्रकाशित













