अझै केहि दिन तापक्रम नघट्ने
केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यका लगायत देशका अन्य भागमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको हुँदा सावधानी अपनाउन अनुरोध गरेको छ। विभागका अनुसार मध्य तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी मापन भएको छ।
अझै केही दिन तापक्रम बढ्ने विभागका मौसमविद् सञ्जीव अधिकारीले बताउँछन्। “आगामी केही दिनसम्म तराईका धेरैजसो भूभागमा अधिकतम र न्यूनतम तापक्रम बिस्तारै बढ्दै जाने देखिएको छ,” मौसमविद् अधिकारीले भन्छन्, “मनसुनको आगमनका लागि केही दिन लाग्ने देखिएकाले गर्मी एक–दुई दिन अझै बढ्ने अनुमान छ।”
तापमान वृद्धि भइरहँदा तराईमा अझै चार दिन तातो हावा तथा लू चल्ने सम्भावना देखिएको विभागले जनाएको छ। तराई बाहेक पहाडी उपत्यका तथा खोचका भूभागमा पनि तापक्रम बढ्ने भएकाले सचेतना अपनाउन विभागको आग्रह छ।
तातो हावा तथा लूबाट हुने सम्भावित असरहरूमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, रिंगटा लाग्ने, बेहोश हुने, मांसपेशी दुख्ने, बान्ता हुने लगायत लक्षण देखिने हुँदा यसबाट बच्न रोकथामका उपाय अपनाउन पनि विभागले सचेत गराएको छ। यसका लागि घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर नजान, घाममा नबस्न, हल्का लुगा लगाउन, बाहिर निस्किँदा टाउको छोप्न, टोपी लगाउन, समय समयमा पानी वा सर्बत प्रशस्त पिउनुपर्छ।
तराईमा तापक्रम वृद्धिको क्रम जारी रहेकाले सतर्क रहनुपर्ने देखिएको मौसमविद् अधिकारीको भनाइ छ।
२६ जेठ २०८०, शुक्रवार १५:५८ बजे प्रकाशित













