बुडाल मृत्यु प्रकरणः निवर्तमान वडाध्यक्षसहित चार जना कारागार चलान,केही तारिखमा छुटे केही धरौटीमा
जीवन बुडालको हत्या आरोप लागेका चार जना पुर्पक्षका लागि कारागार चलान भएका छन्। बैतडी जिल्ला अदालतले बुडालको घटनामा चार जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो।
कर्तव्य ज्यान मुद्दामा न्यायाधीश जयानन्द पनेरुको इजलासले नारायणसिंह ऐरी अर्जुनसिंह रावल, भीमसिंह ठगुन्ना र गजेन्द्रसिंह रावललाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको हो। गजेन्द्रसिंह रावल दशरथचन्द नगरपालिका–६ का निवर्तमान वडाध्यक्ष हुन।
बैतडीको दशरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल १३ फागुनमा साथी र इष्टमित्रसँग पिकनिक मनाउन दोगडाकेदार गाउँपालिका–४ जाडाबगरस्थित चौलानी नदीमा पुगेका थिए । उनी त्यहाँ मृत भेटिए पछि घटना रहस्यमय बनेको थियो ।राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचकको रुपमा उनी बझाङमा कार्यरत थिए ।
पिकनिक मनाउन गएका १२ जनाविरुद्ध किटानी जाहेरी परेका मध्ये जिल्ला अदालतले तीन जनालाई साधारण तारिखमा छोड्ने आदेश गरेको तहसिलदार तीर्थराज आचार्यले बताए।
पाँच जना आरोपी भने धरौटीमा रिहा भएका छन्।
१८ चैत २०७९, शनिवार ०७:५८ बजे प्रकाशित































