आईसीसी यू–१९ विश्वकप छनोटमा नेपालको लगातार दोस्रो जित, कुवेत २४३ रनले पराजित
कप्तान देव खनाल र अर्जुन कुमालले शतक प्रहार गर्नुका साथै आकाश चन्दले ६ विकेट लिएपछि नेपालले शनिबार आईसीसी यू–१९ विश्वकप छनोट प्रतियोगितामा कुवेतलाई २४३ रनले हराएको छ ।
देवले अविजित १२५ तथा अर्जुनले १०८ रन बनाएपछि युनाइटेड अरब इमिरेट्स यूएईको अजमानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३४३ रन बनाएको हो ।
आकाशले ६ विकेट लिएपछि ३४४ रनको लक्ष्य पछ्याएको कुवेतले ३०।५ ओभरमा सबै विकेट गुमाएर १०० रन मात्र बनाउन सक्यो ।
ओपनर अर्जुन र देवले तेस्रो विकेटका लागि १७० रनको साझेदारी गरेका थिए । त्यसअघि अर्जुनले अर्का ओपनर दीपक बोहरासँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । दीपकले १३ रन जोडे । अर्जुनले ११२ बलमा १२ चौका प्रहार गरे । देवले ११७ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए ।
देवले विशालविक्रम केसीसँग चौथो विकेटका लागि ४८ रनको साझेदारी गरे । सिंगापुरविरुद्ध अविजित ६३ रन बनाएका विशालविक्रम केसीले २३ रन बनाए । सिंगापुरविरुद्ध ७८ रन बनाएका आकाश त्रिपाठी भने दुई रन बनाएर रनआउट भए ।
त्यसपछि देवले दिपक बोहरासँग पाँचौ विकेटका लागि २४ रनको साझेदारी गरे । त्यस्तै कप्तान देवले दीपकप्रसाद डुम्रेसँग छैटौँ विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । दिपक बोहराले १९ रन बनाए भने दीपकप्रसाद २० रनमा अविजित रहे ।
कुवेतका अर्श सहिल काजमी र हेनरी थोमसले समान दुई विकेट लिए भने हैबर अलील र जय महेशकुमार मेहताले एक एक विकेट लिए ।
कुवेतलाई १०० रनमै समेट्नेक्रममा आकाशले ९।५ ओभरमा ४३ रन दिएर ६ विकेट लिएका थिए । उनलाई हेमन्त धामी र दीपेश कँडेलले समान दुई विकेट लिएर साथ दिएका थिए ।
कुवेतका लागि कप्तान जुडे क्रिष्टोफर साल्धानाले सबैभन्दा धेरै २६ रन बनाए । युसुफ सादिक बशा मोहमद रसिक मोहमदले १९ र हेट क्रिष्टोफर हिन्सुले १६ रन जोडे । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रनले हराएको थियो । कुवेत भने पहिलो खेलमा हङकङसँग एक विकेटले हारेको थियो । नेपालले अब तेस्रो खेलमा हङकङसँग सोमबार प्रतिस्पर्धा गर्नेछ । कुवेतले अब मलेसियाविरुद्ध खेल्नेछ ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, कुबेत, हङकङ, मलेसिया र आयोजक यूएईले प्रतिस्पर्धा गरेका छन् । राउण्ड रोविन लिग प्रणालीमा हुने प्रतियोगिताको शीर्ष टोलीले २०२४ मा श्रीलंकामा हुने आईसीसी यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।
१३ फागुन २०७९, शनिवार १८:२९ बजे प्रकाशित































