सुदूरपश्चिमका मुख्यमन्त्री रावलले विश्वासको मत लिने समय घर्किँदै, नागरिक उन्मुक्तिका सांसद अझै काठमाडौँमा
कैलाली । आज सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिँदै छन् । आज विश्वासको मत लिने अन्तिम दिन हो ।
दिउसो १ बजे विश्वासको मत लिने गरि प्रदेश सभा बैठक बोलाइएको थियो । तर, सत्ता गठबन्धनमा रहेका नागरिक उन्मुक्तिका सात सांसदहरू अहिले सम्म कैलाली पुगेका छैनन् ।
उनीहरु काठमाडौँमै रहेका कारण दिउसो १ बजेका लागि आह्वान गरिएको बैठक ४ बजेका लागि स्थगित गरिएको छ । अहिले ४ बजे सम्म पनि नागरिक उन्मुक्तिका सांसदहरू कैलाली पुगेका छैनन् ।
नागरिक उन्मुक्तिका सांसदहरू अहिले ४ बजे सम्म पनि कैलाली पुगेका छैनन् । उनीहरु अझै कैलाली आउने सम्भावना क्षीण रहेको स्रोतको दाबी छ ।
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री रावलले २९ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । तर, अहिले नागरिक उन्मुक्तिका ७ सांसदहरू सम्पर्कमा नहुँदा विश्वासको मत पाउने सम्भावना अन्त्य जस्तै भएको छ ।
२६ माघ २०७९, बिहीवार १५:४४ बजे प्रकाशित































