punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अपांगता भएकालाई सहायक सामग्री वितरण गर्दै धनगढी उपमहानगर

Chaupati
safha napa

धनगढी उपमहानगरपालिका–१३, कैलाली गाउँका गोविन्द राना रोगका कारण बायाँ खुट्टा काट्नुपरेपछि बैसाखीको सहारामा हिँड्डुल गर्छन्।

२७ वर्षीय रानालाई कृत्रिम खुट्टा भए शारीरिक अवस्था सुहाउँदो काम गर्ने आँट छ तर कमजोर आर्थिक अवस्थाका कारणले उनले कृत्रिम खुट्टा राख्न पाएका छैनन्।

धनगढी उपमहानगरपालिकाले कृत्रिम खुट्टा दिने भएपछि उनी खुसी छन्। कृत्रिम खुट्टा लगाउनका लागि उनले उपमहानगरपालिका कार्यालय परिसरमा भएको शारीरिक अपांगता सहायक सामग्री परीक्षण शिविरमा सोमबार नापजाँच दिएका छन्। ‘खुट्टाको नाप लिएका छन्। नगरपालिकाले केही दिनमा कृत्रिम खुट्टा बनेर आउँछ भनेको छ,’ रानाले भने, ‘त्यो पाए हिँड्डुल गर्न अहिलेभन्दा सहज होला।’

धनगढीकै जुनकुमारी चौधरीको खुट्टा चल्दैन। अर्काको सहाराविना हिँड्डुल गर्न नसक्ने उनलाई धनगढीका मेयर गोपाल हमालले सोमबार ‘वाकर’ हस्तान्तरण गरे। ‘वाकर’ पाएपछि खुसी व्यक्त गर्दै उनले यसले घरआँगनमै भए पनि हिँड्डुल गर्न सहज हुने आशा गरिन्।

उपमहानगरभित्र शारीरिक अपांगता भएका व्यक्तिलाई सहायक सामग्री दिनका लागि उपमहानगरपालिकाले अहिले शारीरिक अपांगता सहायक सामग्री परीक्षण शिविर सञ्चालन गरिरहेको छ। बैसाखी र ‘वाकर’ आवश्यक पर्ने अपांगता भएका व्यक्तिलाई ती सामग्री शिविरमै वितरण भइरहेका छन् भने कृत्रिम हात, खुट्टालगायत सामग्री आवश्यक भएका व्यक्तिको नापजाँच लिने गरिएको छ।

शिविरमा नापजाँच लिएर ती सामग्री निर्माण गरिएपछि सम्बन्धित व्यक्तिलाई दिइने उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले बताए।

हालसम्म कतैबाट कुनै पनि सहायक स्वास्थ्य सामग्री नपाएका नगरभित्रका सबै अपांगता भएका व्यक्तिलाई निःशुल्क रूपमा सामग्री दिइने उनले बताए। त्यसका लागि उपमहानगरले नेपाल राष्ट्रिय समाज कल्याण संघसँग सम्झौता गरेको छ। संघले नापजाँच गरेर आवश्यक सहायक सामग्री उत्सादन गर्ने र त्यसको लागत उपमहानगरले व्यहोर्ने सहमति छ।

उपमहानगरभित्र शारीरिक अपांगता भएका व्यक्तिको यकिन तथ्यांक छैन तर त्यस्तो संख्या एक हजार पाँच सयको हाराहारीमा रहेको उपमहानगरको अनुमान छ।

उपमहानगरले नगरभित्र तीन ठाउँमा अपांगता सहायक सामग्री परीक्षण शिविर गरिसकेको छ। अहिलेसम्म करिब दुई सयजनाले सहायक सामग्री लिनका लागि नापजाँच गराएको उपमहानगरले जनाएको छ।

धनगढीका मेयर हमालले अपांगता भएका व्यक्तिको जीवनयापनमा सहजताका लागि सहायक सामग्री वितरण गर्न लागिएको बताए। ‘अपांगता भएका व्यक्तिलाई जीवनयापन गर्न मात्र होइन, शौचालय जानसमेत निकै समस्या छ,’ मेयर हमालले भने, ‘त्यसैले हामीले बरु एक किलोमिटर सडक कम बनाउँछौँ तर नगरभित्र अपांगता भएका सबै व्यक्तिलाई सहायक सामग्री वितरण गर्छौँ।’

उपमहानगरले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए। स्वास्थ्यलाई प्राथमिकतामा राखेर हरेक वडामा हरेक महिनाको एक दिन विशेषज्ञ वडा क्लिनिक र प्रसूतिका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको मेयर हमालले बताए। त्यस्तै, क्यान्सर रोगको पहिचानका लागि शिविर पनि उपमहानगरले सञ्चालन गरेको उनले जानकारी दिए।


९ माघ २०७९, सोमवार २०:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु