बाजुरामा समयमा अस्पताल पु¥याउन नसकेपछि गर्भवती महिलाको बाटोमै मृत्यु

कैलाली । बाजुरा बडिमालिका नगरपालिका १ पिनालेखकी २६ बर्षिय जानकी विक सुत्केरी हुन नसकी सोमबार राति मृत्यु भएको छ ।

जिल्ला अस्पताल बाजुराले सुविधा सम्पन्न अस्पतालमा रेफर गरे पनि उनको अस्पताल पुग्न नपाउँदै मृत्यु भएको हो । एम्बुलेन्सलाई तिर्ने पैसा नभएपछि बसको टिकट काटेर जानकीलाई महेन्द्रनगर ल्याउने तयारी गरिएको थियो । तर, बाटोमै श्रीमतीको मृत्यु भएको रमेश विकले बताए ।

बाजुराबाट महेन्द्रनगरको दुरी ३१७ किलोमिटर रहेको छ । यहाँ सम्म पुग्न करिब १३ घण्टा लाग्छ । यति लामो दुरी बसमा यात्रा गर्दा ज्यानै जोखिममा पर्ने भन्दै बस चालकले महिलालाई अछामको बलयलपाटा अस्पताल लैजान सुझाव दिएका थिए ।

महिलालाई व्यथाले च्यापेपछि अछाम र डोटीको सिमाना चौखुट्टे बाट चालकको सुझाव अनुसार महिलालाई जिप मार्फत बयलपाटा अस्पताल लगिएको थियो । तर, महिलाको अस्पताल नपुग्दै ज्यान गएको हो ।बयलपाटा अस्पतालमा कार्यरत अहेब भवानी ढुङ्गानाले गर्भवती महिलाको बाटोमै मृत्यु भएको बताए ।

माघ ४ गते आफन्तले जानकीलाई बाजुरा अस्पतालमा परीक्षणका लागि ल्याएका थिए । अस्पताले सामान्य औषधि दिएर घर पठाएको थियो । जानकीलाई सुत्केरी व्यथाले च्यापेपछि ८ गते राति पनि आफन्तले अस्पताल पुराए ।

अस्पतालले जानकी मुटु रोगी भएकाले सुविधा सम्पन्न अस्पताल लग्न सुझाव दिएको थियो । सुविधा सम्पन्न अस्पताल पुग्न नपाउँदै जानकीले ज्यान गुमाइन् ।


१० माघ २०७९, मंगलवार ०८:१७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु