मन्त्रालयको प्रगति विवरण प्रस्तुत गर्दै सुदूरपश्चिमका मन्त्रीले आफैलाई दिए अनुत्तीर्ण अङ्क
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री डा। रणबहादुर रावलले आफूले प्रदेशमा थुप्रै काम गरेको दाबी गरेका छन् ।
आज पत्रकार सम्मेलनको आयोजना गर्दैै उनले आफू मन्त्री भएपछि भएका प्रगतिहरू सुनाए । मन्त्री रावलले प्रदेश प्रहरी मुख्यालयको भवन निर्माण गरेको, मन्त्रालयमा सिसी क्यामेरा जडान गरेको नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि बिभिन्न स्थानमा कार्यालय स्थापन गरेको दाबी गरे ।
उनले आफ्नो कार्यकालमा पारित भएका संशोधन भएका विधेयकका बिषयमा पनि जानकारी दिएका थिए । आफू र आफ्नो कार्यकालमा भएका प्रगतिहरूको बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले प्रगति विवरण मात्रै सुनाएनन् आफूलाई मूल्याङ्कन समेत गरे । लामो समय प्रतिपक्षी दलको नेता हुँदै सरकारको प्रवक्ता भएका रावलले पहिले सरकार र सरकारमा रहेका मन्त्रीहरूको मूल्याङ्कन गर्दै अङ्क दिने गरेका थिए ।
‘यस पटक आफूले गरेको कामलाई कति अङ्क दिनुहुन्छ त’ पत्रकार सम्मेलनमा पत्रकारले प्रश्न गरे । पहिले भन्दा केही काम भएका छन् उनले भने पहिलेको जस्तो १।५ हुँदै छ अहिले १० मा ३ नम्बर दिन्छु ।’
रावल सुदूरपश्चिम कांग्रेस संसदीय दलका निवर्तमान दलका नेता हुन् । उनी अघिल्लो पटक निर्वाचित भएको कैलालीको प्रतिनिधि सभा १ को प्रदेश सभामा यस पटक पराजित भए ।
केन्द्रमा सत्ता गठबन्धनमा कांग्रेस रहँदा पनि सुदूरपश्चिममा कांग्रेस प्रतिपक्षमा रहेको थियो । अघिल्लो बर्ष चैत्र २८गते उनी आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त भएका थिए ।
२५ पुस २०७९, सोमवार १५:२८ बजे प्रकाशित






























