बैतडीमा जिप दुर्घटना, चार जना घाइते
बैतडीमा जिप दुर्घटना हुँदा एकै घरका तीन सहित चार जना घाइते भएका छन् । बझाङको बुंगलबाट धनगढी जाँदै गरेको से१च १२२६ नं को जिप जय पृथ्वी राजमार्गमा पर्ने बैतडीको सुर्नया ६ मोतिनगर बजार नजिकै दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी बझाङको बुंगल नगरपालिका ९ की ४० वर्षीया नर्मा पातली, सोही ठाउँकी ७० वर्षीया काली पातली, ४५ वर्षीय नरपति पातली र चालक समेत रहेका बझाङको केदारस्यू गाउँपालिका ५ का २० वर्षीया धन बहादुर गुर्धामी घाइते भएका छन् ।
घाइते नर्मा, काली र नरपति एकै घरका हुन् । घाइते नरपति र काली पातलीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको प्रहरी चौकी खोडपेका इन्चार्ज गणेश बहादुर विकले जानकारी दिए । जिप सडकबाट करिब पचास मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
२१ मंसिर २०७९, बुधवार ११:०३ बजे प्रकाशित































