कैलालीको बाढी प्रभावित क्षेत्रमा खाद्य उत्पादन घट्यो
कैलालीको भजनी नगरपालिका–३ पकडियाका सन्तोली डगौरा थारूले बाढीका कारण यो वर्ष खाद्यसंकट व्यहोर्नु परेको छ । उनले आफ्नो ११ कट्टा जग्गाको उत्पादनले वर्षभरि खाएर बचत खाद्यान्न बिक्री गर्दै आएकी थिइन् ।
धान र गहुँ दुवैको बचत भएको खाद्यान्न बिक्रीबाट उनको चार जनाको परिवारको घर खर्च पनि चल्थ्यो । गत वर्ष र यो वर्ष धानबाली भित्र्याउने बेलामा आएको बाढीले गर्दा उल्टै बेसाहा गर्नुपरेको छ । ‘धानबाली भित्र्याउने बेला असोजमा बाढी आएकाले भकारी रित्तै छन्,’ उनले भनिन्, ‘२४ क्विन्टल फल्ने खेतबाट चार क्विन्टल जति धान भित्र्याउन पाएँ । त्यो पनि बाढीले सुतेको बाली काटेकाले खान र बिक्री गर्न लायक छैन ।’
उनका अनुसार बाढीले डुबाएको धान कुट्दा काम नै नलाग्ने गरी टुटेर कनिया बन्ने गरेको छ । देख्दै कालो धान बिक्री पनि नहुने बताइन् । चार जनाको ज्यान परिवारका लागि भात खान यो वर्ष ४ क्विन्टल धान किन्नुपरेको उनले बताइन् । उनले घरसहित डुबानमा पर्दा दुई साता हुलाकी सडकमा बस्नुपरेको बताइन् ।
‘तीन दिन त भोकै बस्नुपर्यो । घरभित्रको अनाज र लत्ताकपडा सबै बग्यो । खेतको धान त के बाँकी रहन्थ्यो र ’ उनले भनिन्, ‘सडकमा बास हुँदासम्म स्थानीय तह र विभिन्न संघसंस्थाहरूले बाँडेको खाद्यान्न खाएर बसेका थियौं । बाढी घटेर घर फर्केपछि कसले दिने रु त्यही दिनदेखि बेसाहा गरेर खानुपरेको छ ।’ उनले गत वर्ष पनि धान भित्र्याउने बेलामा बाढी आएको बताइन् । ‘यो वर्ष जसरी सबै धानबाली बगाएर नाश गरेको थियो,’ उनले भनिन्, ‘गएको वर्ष पनि धान किनेर खानुपर्यो ।’
अर्का स्थानीय रामदेव डगौराले पडकिया बस्तीमा पछिल्लो चाररपाँच वर्षदेखि बाढी लाग्ने समस्या बढेको बताए । उनले यो वर्ष र गएको असोज र कात्तिकको बेमौसमी वर्षाले धान भित्र्याउने बेला बाढी लागेको बताए । उनले यसअघिको वर्ष असारमा रोपेको धान बगाएर लगेको बताए । ‘जति बाढी लाग्ने समस्या बढ्दै गएको छ,’ उनले भने, ‘स्थानीय खाद्य संकटमा पर्दै गएका छन् ।’ उनले आफ्नो ७ कट्टा जग्गामा लगाएको धानबालीले वर्षभरि भात खान पुग्ने गरेको बताए । तर विगत तीन वर्षदेखि चामल किनेर खानु परेको बताए ।
कैलालीको सबैभन्दा होचो तर बढी धान उत्पादन हुने क्षेत्रमा भजनी, टीकापुर, कैलारी, जानकी र जोशीपुर गाउँपालिका पर्छन् । असोजमा आएको बाढीले उक्त क्षेत्रका २० हजारभन्दा बढी परिवार बाढीबाट प्रभावित भएका छन् । बाढी घटेपछि उनीहरू घर फर्केका थिए । उक्त चार स्थानीय तहको बाढीको समस्याले कैलालीको वार्षिक अन्न उत्पादनमा समेत १५ प्रतिशतसम्मले कमी आएको कृषि ज्ञान केन्द्रका खगेन्द्र शर्माले बताए ।
१७ मंसिर २०७९, शनिवार १६:५१ बजे प्रकाशित































