punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हतारमा जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् कैलालीवासी

Chaupati
safha napa

कैलालीको टीकापुर नगरपालिका– २ का वीरबहादुर चौधरी तिहारको दिन निकै हतारमा थिए । हतारमा घरबाट निस्किए पनि उनले टीकापुर र बर्दिया जोड्ने कर्णाली नदीको सन्कट्टीमा १ घण्टा कुर्नुपर्‍यो । डुङ्गा (स्टिमर) को भरमा नदी तर्नुपर्ने बाध्यताका कारण वीरबहादुरजस्ता कैयौँ व्यक्ति समयमै आफ्नो गन्तव्यमा पुग्न सकेनन् ।

‘भाइटीकाको दिन साइतमै पुगेर टीका लगाउने मनस्थितिले घरबाट निस्किएको थिएँ । १ घण्टाभन्दा बढी समयसम्म डुङ्गाको पालो पर्खिन लाग्यो,’ उनले भने, ‘नदीमा पुल भइदिएको भए कसैले कसैका लागि पर्खनुपर्ने अवस्था आउने थिएन ।’

एउटै डुङ्गामा सयौँलाई वारपार गराउनुपर्ने भएकाले यात्रुले समयमै पालो पाएनन् । डुङ्गालाई एकपटक वारपार गर्न आधा घण्टा लाग्छ । सोही कारण वीरबहादुर समयमै गन्तव्यमा पुग्न सकेनन् । बर्दियाको पाताभारबाट टीकापुर आएका अनिश थारू पनि डुङ्गाको पालो पर्खेर बसेका थिए । उनी कति हतारमा थिए भन्ने उनको छटपटीले नै देखिन्थ्यो । ‘तिहारको अघिल्लो दिन नै टीकापुर आएको थिएँ, दिदीले बर्दिया आउन नसक्ने भनेपछि टीका थाप्न आएको थिएँ,’ अनिश भन्छन्, ‘निकै ढिलो भयो । डेढ घण्टादेखि पालो पर्खेको अझै पालो आएको छैन । घरमा दिदीबहिनी टीका लगाउन मलाई पर्खेर बसेका छन् । कतिबेला पुगिन्छ थाहा छैन ।’

कैलालीको लम्कीचुहा नगरपालिकाका मीनबहादुर धामीलाई पनि निकै हतारमा थिए । सन्कट्टी पुगेका उनलाई कर्णाली नदी पार गर्न १ घण्टाभन्दा बढी लाग्यो । घरमा भएका दिदीबहिनीसँग टीका लगाएर बर्दियामा रहेकी दिदीको हातबाट टीका लगाउन शान्तिबजार जान लागेका उनी पनि डुंगा तर्नेहरूको भिडका कारण समयमै गन्तव्यमा पुग्न सकेनन् ।

नदी वारपार गर्ने अर्को विकल्प नहुँदा स्थानीयहरू जोखिम मोलेरै यात्रा गर्न बाध्य छन् । एउटा व्यक्तिले नदी तर्दा २५ र मोटरसाइकलको ५० रुपैयाँ तिर्नुपर्छ । नदीसम्म सवारीसाधन नभएकालाई पुग्न अझ कठिन छ । टीकापुरबाट नदीसम्म पुग्न अटोरिक्सा मात्रै विकल्प छ । नदीसम्म पुगेको एक यात्रुको ५ सयसम्म रिक्सा चालकले लिने गरेका छन् ।

टीकापुरका मनोज चौधरी विगत तीन वर्षदेखि त्यहा अटोरिक्सा चलाउदै आएका छन् । टीकापुरदेखि सन्कट्टीसम्म पुर्‍याएको ५ सय लाग्ने गरेको छ । नदी तरेर पारि बर्दिया क्षेत्रमा पुगेपछि पनि अटोरिक्साभन्दा अर्को सवारीसाधनको विकल्प छैन । त्यहाँबाट शान्तिबजार पुगेको पनि ५ सय तिर्नुपर्छ । अस्तव्यस्त सडकका कारण रिक्साको भाडा महँगो हुन गएको मनोज बताउँछन् ।

‘बाटो निकै अप्ठ्यारो छ, पेट्रोल महँगो छ,’ मनोज भन्छन्, ‘बाटो राम्रो भए समयमै यात्रुलाई पुर्‍याउन सकिन्छ । बाटोकै कारण यात्रु मारमा परेका छन् । हाम्रो पनि बाध्यता छ ।’

बर्दियाको गेरुवा गाउँपालिका र राजापुर नगरपालिकासँग टीकापुरको सम्बन्ध पारिवारिक र व्यापारिक रूपमा नजिक छ । हुलाकी राजमार्गअन्तर्गत सत्तीमा पुल निर्माण भएको भए पनि त्यहाँको भन्दा बढी आवागमन सन्कट्टी र दौलतपुरबाट हुने गरेको छ । त्यहाँ दुवै क्षेत्रमा वर्षौँदेखि डुङ्गा सञ्चालन हुँदै आएको छ । स्थानीय सरकारले डुङ्गा सञ्चालन गरेबापत राजस्व सङ्कलन गर्दै आएको छ ।

सनकट्टीमा पुल निर्माणका लागि गत आर्थिक वर्षमा नै बोलपत्र आह्वान भएर ठेक्कासमेत भएको छ । ठेक्का भएको पुल निर्माणको कुनै प्रक्रिया अहिलेसम्म नभएको भन्दै स्थानीयको गुनासो छ । पुल निर्माण भएपछि सहज रूपमा आवागमन गर्न सक्ने भएकाले छिटो निर्माण सम्पन्न गर्न उनीहरूको माग छ । रासस


११ कात्तिक २०७९, शुक्रवार १३:५९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु