कैलालीमा प्रहरीमाथि नै कुटपिट, तीन जना पक्राउ
कैलालीमा दुई जना प्रहरीमाथि कुटपिट भएको छ । जिल्लाको जानकी गाउँपालिकास्थित वडा नम्बर ३ मा गए राति ११ बजेतिर प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ । टीकापुर नगरपालिका वडा नं. १ शिवनगर बस्ने १५ वर्षका विकाश चौधरीमाथि नयाँलायकपुर शिविरमा अपरिचित युवकले आक्रमण गरेको खबर सुनेर प्रहरी त्यहाँ पुगेका थिए ।
प्रहरी तथा स्थानीय प्रशासनलाई जानकारी नगराई अबेरसम्म दशैँ विशेष सांस्कृतिक कार्यक्रम आयोजना भइरहेको बारे बुझ्दा प्रहरी जवान जनक ठकुल्ला र वीरेन्द्र वडमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कुटपिटबाट प्रहरी जवान ठकुल्लाको टाउकोमा चोट लागेको छ । पक्राउ पर्नेमा जानकी गाउँपालिका वडा न. ३ का २९ बर्षीय लक्ष्मण चौधरी, २९ बर्षीय राम चौधरी र २० बर्षीय आशा राम चौधरी रहेको कैलालीका प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए । प्रहरी कुटपिटमा संलग्न रहेका अन्यको खोजी भइरहेको डिएसपी जोशीले जानकारी दिए ।
२० असोज २०७९, बिहीवार २१:४६ बजे प्रकाशित































