बस दुर्घटना अपडेट : १६ जनाको मृत्यु, १२ जनाको सनाखत
पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान करिब साढे १० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ । दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका– ५ बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी र चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने १४ वर्षीय सफल कँडेल रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ६५ वर्षीय सोमबहादुर चौरसिया, सोही स्थान बस्ने ३५ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ७ का ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा–७ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीया नाजलिन खातुन, कलैया–१० का इजाजत अन्सारी र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २८ वर्षीया सुरेश विक रहेका छन् ।
सोही दुर्घटनामा परी खोलढुङ्गा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर–५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । बसका चालक स्याङ्जा आदिखोला गाउँपालिका– ६ बस्ने ४० वर्षीय कोदिप्ति नारायण ढकालको भने हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको प्रहरीको भनाइ छ ।
२० असोज २०७९, बिहीवार २०:५२ बजे प्रकाशित































