भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु
भारतमा रेलको ठक्करबाट नेपाली युवकको मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै गरेको रेलले ठक्कर दिँदा झापा मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको मृत्यु भएको हो । उनलाई रेलले सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा ठक्कर दिएको थियो ।
रेलको ठक्करबाट श्रेष्ठको घटनास्थलमै मृत्यु भएको भारतीय प्रहरीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिए । घटनालगत्तै पानीट्याङ्कीस्थित भारतीय प्रहरी चौकीले काँकडभिट्टा इलाका प्रहरी कार्यालयमा मृत्युबारे जानकारी गराएको थियो ।
श्रेष्ठको शव भारतीय प्रहरी चौकीमै राखिएको छ । परीक्षणपश्चात शव आज नेपाल ल्याइने प्रहरीले जनाएको छ ।
३ असार २०७९, शुक्रवार १०:३५ बजे प्रकाशित














