संघ–प्रदेशको चुनावमा एमालेसँग गठबन्धन सम्भव छैन : उपाध्यक्ष रावल

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष अक्कलबहादुर रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नसच्चिएसम्म चुनावी तालमेल वा एकता सम्भव नभएको बताएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम आउनै लाग्दा फेरि कम्युनिस्टहरूबीच गठबन्धनको चर्चा चलिरहेको बेला उपाध्यक्ष रावलले सो कुरा बताएका हुन् ।

उपाध्यक्ष रावलले कम्युनिस्टहरु एक ढिक्का भएको र वाम ध्रुविकरणको कुरा आवश्यक भएपनि त्यसको बाधक ओली प्रवृति भएको बताए । उनले (नेकपा) किन विघटन भयो भन्ने कुराको गम्भीर समीक्षासहित कमीकमजोरीलाई सच्याएपछि मात्रै फेरि एमालेसँग तालमेल वा एकता सम्भव हुने बताए । उनले प्रदेश र संघको चुनावमा पनि वर्तमान गठबन्धन जारी राख्नुपर्ने धारणा समेत राखे । त्यसका लागि सबै दल इमानदार हुनुपर्ने समेत रावलले बताए ।

“नेपालमा कम्युनिस्ट आन्दोलन विभाजित हुँदा नेपाली काँग्रेसले राजनीतिक फाइदा लिन्छ भन्ने कुरा विगतदेखि अहिलेसम्म पुष्टि भइसकेको छ, नेकपा एमालेमा लागेका आम नेता कार्यकर्तालाई के बोध होस् भने यो सब ओलीका कारणले भएको हो । ओली रहेसम्म न नेकपा एमाले रहेनवाला छ न कम्युनिस्ट आन्दोलन ध्रुवीकरण सम्भव छ ।

यो कुराको महशुस एमाले क्याम्पमा जबसम्म हुँदैन तबसम्म नेपाली काँग्रेसले राजनीतिक फाइदा लिइरहन्छ । यसको अर्थ हामी खुशी भएको छौं भन्ने होइन । तर, ओलीले आफ्नै पार्टीका नेता कार्यकर्तालाई सडकमा पुर्याए, देउवाले त होइन । ओलीभन्दा देउवा सुधारोन्मुख छन्” रावलले भने । देउवाले अरुको अस्तित्व स्वीकार गरेपनि त्यो ओलीबाट सम्भव नभएको रावलले बताए ।


१२ जेठ २०७९, बिहीवार १८:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु