भरुवा बन्दुकसहित एकजना पक्राउ
पर्सामा भरुवा बन्दुकसहित आज एक जना पक्राउ परेका छन् । पक्राउपर्नेमा सखुवाप्रसौनी–१ औराहाका २७ वर्षीय सल्टु महतो रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई १२ बोरको एकनाले भरुवा बन्दुकसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–१ बाट पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम खनालले जानकारी दिए ।
सखुवाप्रसौनी गाउँपालिका–१ औराहास्थित जङ्गल छेउ रहेको स्थानीय मङ्गलबहादुर ब्लोनको घर लक्षित गरी बिहीबार राति महतोले बन्दुकबाट तीन राउण्ड गोली प्रहार गरेको प्रहरीको आरोप छ । गोली प्रहार गर्नुको एकीन कारण खुल्न नसके पनि चुनावमा स्थानीयवासीलाई त्रसित पार्न र व्यक्तिगत रिसिइबीका कारण महतोले गोली चलाएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
महतोले प्रहार गरेको गोलीले ब्लोनको घरको बाँसको टाटी छेडेर घरभित्र रहेको चामलको बोरामा कटुवा गोलीको टुक्रा भेटिएको थियो । पक्राउ परेका महतोलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
२३ वैशाख २०७९, शुक्रवार १६:२३ बजे प्रकाशित













