पूर्वमन्त्री आलमलाई थुनामा राख्ने आदेश सदर
पूर्वमन्त्री मोहमद आफ्ताव आलमलाई थुनामै राखेर जिल्ला अदालत रौतहटमा विचराधीन ज्यान मुद्दा अघि बढ्ने भएको छ । उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भनी जिल्ला अदालतले गरेको आदेशलाई सर्वोच्च अदालतले सदर गरेको हो ।
न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई थुनामै राख्न आदेश दिएको हो । आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी जिउँदै मान्छेलाई इँटा भट्टामा पोलेर मारेको अभियोग छ । पहिलो संविधानसभाका बेला २०६४ फागुन २७ गते आलमको घर नजिक बम बनाउने क्रममा बिस्फोट हुँदा ८ जना घाइते भएका थिए ।
घाइते सबैलाई नजिकैको इँटाभट्टामा जलाएको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतको आदेशलाई २४ माघ २०७६ मा उच्च अदालत वीरगञ्जले सदर गरेको थियो ।
आलमले उच्च अदालतको उक्त आदेशलाई चुनौती दिँदै सर्वोच्चमा रिट निवेदन दिएका थिए । रिटमा थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्ने माग गरिएको थियो । तर, सर्वोच्चले थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै आलमको माग अस्वीकार गरेको हो ।
२३ वैशाख २०७९, शुक्रवार १७:०१ बजे प्रकाशित













