मुक्तकमैयाको गुनासो– नेताहरु एक बोतल रक्सीमा भोट पछि फर्केर आउँदैनन्

कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरकी सुस्मिता चौधरीको चार वर्ष अघिको गुनासो पाँच वर्ष पहिले जस्तो थियो अहिले पनि त्यस्तै छ । उनको गुनासो छ, ‘नेताहरु चुनावमा शिविरमा आएर विभिन्न आश्वास दिएर भोट माग्छन्, पछि फर्केर आउँदैनन् । बोलेको बाचा पनि पूरा गर्दैनन् ।

आसन्न वैशाख ३० गते हुने निर्वाचनका लागि भोट माग्ने आउने नेताहरुले पनि आश्वासन नै दिइरहेको उनको भनाइ छ । ‘हाम्रो गाउँमा आउने नेताहरु अहिले पनि हामीलाई सहयोग गर्नुहोस् तपाईहरुको व्यवस्थापन गरौंला भनेर भनिरहेका छन्,’ उनले भनिन्, ‘अब त भोट दिने कि नदिने भन्ने दोधारमा परेका छौं । यहाँको अवस्था हेर्नु यस्तो छ बतीको हाल्त पनि उस्तै छ साँझ तिर पावर पुग्दैन काटी हाल्छ सुधार होला भनेर के आश गर्नु ।’

उनले शिविरमा आएर नेताहरुले एक बोतल रक्सीमा सिधासाधालाई लठ्ठ पारेर भोट किन्ने गरेको आरोप लगाइन् । ‘गाउँमा सेवा सुविधा केही पुग्न सकेको छैन,’ उनले भनिन्, ‘सबैभन्दा बढी समस्या सडक र खानेपानीको छ । सडकका नालाहरु प्नि बनाइएका छैनन् ।’ उनले नेताहरु जितेर गएपछि जनतालाई चिन्नै छोड्ने गरेको बताइन् । ‘अहिले भोट माग्ने बेला नमस्ते हजुर, दिदीबहिनी भन्दै हिड्ने गरेकाहरु जितेर गएपछि चिन्दैनन्,’ उनले भनिन् ।

गाउँमा विद्यालय व्यवस्थापनलगायतका कामहरुका लागि पनि काम हुन नसकेको बताइन् ।‘हामीले एउटा सानो भवनका लागि वडा कार्यालयदेखि नगरपालिकामा पहल गर्दा पनि सुन्दैनन्’ उनले भनिन्, ‘आफै पैसा उठाएर विद्यालय भवनमा टिन हालेर काम चलाए पनि अहिले त्यो पनि भत्किसक्यो ।’ छोराछोरीलाई राम्रो स्कुल पढाउने शक्ति आफूहरुसंग नभएको स्थानीयको दुखेसो छ ।

दिनभरी मजदुर गरेर ल्याएको पैसाले पेट भर्न र छोराछोरीलाई स्कुल पढाउन नै मुस्किल हुने गरेको उनले बताइन् । ‘नमस्कार भन्दै भोट माग्न आउँछन्,’ स्थानीय बिपतराम चौधरीले भने, ‘मलाई भोट दिएर जिताउनुहोस म तपाईको दुख सुख हेर्छु भनेर भन्छन्, तर अन्तिममा कुनै सहयोग हुँदैन ।’ उनले चुनाव जितेर गएका नेताहरु अहिलेसम्म र्फेकेर नआएको बताए ।

‘भोट माग्दै प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले भगतपुरको मन्दिर बनाइदिनछु भन्नुभयो,’ उनले भने, ‘आजसम्म त्यस्तै छ । जितेपछि बेपत्ता भए । फर्केर आएनन् ।’ चुनावका बेला नेताहरुले सडक, खानेपानी, विद्यालय र विद्युत पुगादिने आस्वासन दिएपनि पूरा नहुने गरेको उनको गुनासो छ ।

घरीराम चौधरीले भोट माग्न आउने नेताहरुलाई जितेर गइसकेपछि अनुहार देख्न मुस्किल हुने गरेको बताए । ‘अहिले मिलेको लालपूर्जा पनि सक्कली हो की नक्कली हो भन्नेबारे पनि आफूहरु विश्वस्त नरहेको बताए । लालपूर्जा लिदा १५२५ रुपैया तिरेर लिएको उनले बताए ।

त्यो लालपूर्जा भएपनि जग्गाजमिन बेच्न नमिल्ने र बैँकमा धितो समेत राख्न नमिल्दैन भन्दै उनले असन्तुष्टि व्यक्त गरे । ‘लालपूर्जा दिँदा हामीलाई धेरै जस्तो चौधरीमा जाडरक्सी खान्छन,’ उनले भने ‘के थाहा धितो राखेर जाडरक्सी पो खान्छन की ?’ जसले विकास गर्छ उसैलाई भोट दिने फगती चौधरीले बताइन् । ‘आश्वासनकै भरमा नेतालाई भोट हालिँदैन’ उनले भनिन् ।

पूर्व संविधानसभा सदस्य हरी श्रीपाइलीले मुक्त कमैयाको पुनःस्थापनाका लागि सरकार सँग माग गरेको बताए । ‘पुनः स्थापनका लागि काम सुरु भएको छ,’उनले भने ‘नेपालमा अब कुनै पनि हलिया, कमैया र कमलरीहरुले पुनःस्थापना भएन भन्ने स्थिती आउने छैन ।’ आफूहरुले भोटका लागि मात्रै राजनीति नगरेर मुक्तकमैयाहरुको पुनः स्थापनाका लागि लागिपर्ने उनको भनाइ छ ।

स्थानीय, प्रदेश र संघीय सरकारले हलिया कमैया कमलरीहरुको अवस्था, हाल छुट भएकाको संख्या, उनीहरूको शिक्षा, स्वास्थ्य र रोजगारमा के गर्नुपर्छ भन्ने लगायताका विषय यकिन गरेर सरकारलाई प्रतिवेदन बुझाएको उनले बताए ।२५० पानाको प्रतिवेदन सरकारलाई बुझाएकाले छिटै मुक्तकमैयाहरुको पुनः स्थापना हुने उनले दाबी गरे ।

 


२३ वैशाख २०७९, शुक्रवार ११:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु