धनगढीमा कुलदिप हत्या प्रकरण : ५० रुपैँयाका लागि हत्या

अटो रिक्साको भाडा तिर्ने क्रममा विवाद गरेपछि अटो चालक र उनका साथीले धनगढीमा केही दिनअघि एक भारतीय युवकको हत्या गरेको खुलेको छ ।
धनगढीको वडानम्बर ५ केराबारीमा हत्या गरेर शव नालीमा फालिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेपछि ५० रुपैयाँ भाडाको विवादमा हत्या गरेको रहस्य खुलेको हो ।

भारतको साहजहाँपुरका ४२ वर्षिय कुलदिप गुप्ताको फागुन २३ गते हत्या गरेको अवस्थामा शव फेला परेको थियो । अनुसन्धानका क्रममा प्रहरीले अटो चालक बाजुराको खप्तडछेडेदह २ का २४ वर्षिय राजेन्द्र बुढा र सोही अटोमा सवार उनका साथी २० वर्षिय भूपेन्द्र बुढालाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

No description available.

प्रहरीका अनुसार प्रदेशसभा अगाडिबाट अटोमा बसेका गुप्तासँग उनीहरुको चक्मेली बजार पुगेपछि विवाद भएको थियो । गुप्ताले भाडाको विषयमा विवाद गरी अपशब्द बोलेकोले आवेगमा आई हात हालाहाल र हानाहान भएको बुढाद्वयले बताएका छन । त्यस क्रममा गुप्ता नालीमा खसेपछि भुपेन्दले अटोमा रहेको काठको टुक्राले हिर्काउँदा उनको मृत्यु भएको प्रहरी बयानमा खुलाएका छन । घटना अघि बुढाद्वयले मदिरा सेवन गरेको जनाएका छन भने गुप्ताले पनि मदिरा सेवन गरेको खुलेको छ ।

पत्रकार सम्मेलनमा प्रहरीले जारी गरेको प्रेस विज्ञप्ती जस्ताको तस्तै :

भारतीय नागरिकको हत्यामा संलग्न दुई जना पक्राउ

१. मिति २०७८÷११÷२३ गते अं. ८ः०० बजे जिल्ला कैलाली धनगढी उप–महानगरपालिका वडा नं. ५ केराबारी स्थित सडक किनाराको नालीमा पछि नामथर वतन खुलेको भारत उत्तर प्रदेश सहेजापुर बस्ने बर्ष अं. ४२ को कुलदीप गुप्ताको हत्या गरी शव फालेको भन्ने सूचना प्राप्त हुनासाथ सुदुर पश्चिम प्रदेश प्रहरी कार्यालय र यस कार्यालयको बिशेष अनुसन्धान टोली सहित यस कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी अपराध अनुसन्धानका लागि घटनास्थल पुगी अनुसन्धान शुरु गरेको ।
२. अनुसन्धानको क्रममा निज कुलदीप गुप्ता बिगत केही बर्षदेखि धनगढी उप–महानगरपालिका वडा नं. ४ शिवपुरी धाम नजिक डेरा गरी बसेकोमा विगत आठ महिना अघि सपरिवार भारत गई मिति २०७८÷११÷२१ गते बिहान निज भारतबाट आई धउनमपा–८ स्थित निजको कान्छो भाई सुमित गुप्तासंग बसी मिति २०७८÷११÷२२ गते बिहान अं. ९ः०० बजेतिर त्यहाँबाट काम खोज्न जान्छु भनी निस्की धउमनपा–१ स्थित मिल्की फन आइस क्रिमका सञ्चालक वंश गोपाल मिश्रालाई भेटी निजबाट आइसक्रिमको ठेला लिई दिनभरी बिक्री बितरण गरी राती विक्री गरेको रकम निज मिश्रालाई दिई कमिशन वापत प्राप्त रु. १२४०÷– बुझी लिई हिडेको र तत्पश्चात् निज राती करीब ८ः३० बजेतिर वडा नं. १ अदालत रोड स्थित निजको दाजु प्रदिप गुप्ताको घरमा मादक पदार्थ सेवन गरेको अवस्थामा आई केही बेर कुरा गरी त्यहाँबाट हिडेको पाईएको ।
३. अनुसन्धान कै क्रममा निज कुलदीप गुप्ता २०७८÷११÷२२ गते राती ९ः१२ मिनेटमा धनगढी मेनरोड स्थित कारागार जानेबाटोबाट पश्चिम गईरहेको सिसि टिभी फुटेजमा मा देखिएको  तत्पश्चात् निज पशुपतीटोल जाने बाटोबाट मेनरोडमा निस्की पार्कमोडतिर गएको र त्यसपछि प्रदेशसभा अगाडि निलो रङको अटोको अगाडिको भागमा बसी पुर्वतर्फ आई नैनादेवीसम्म पुगेको सिसि टिभी फुटेजबाट देखिएको ।
४. अनुसन्धानको क्रममा निलो रङको अटोको खोजी गर्दै जाँदा मिति २०७८÷११÷२७ गते बिहान ८ः०० बजे कुलदीप गुप्ता चढेको से १ ह २८६६ नं. को अटो पहिचान गरी अटो चालक जिल्ला बाजुरा खप्तड छेडेदह गापा – २ बस्ने बर्ष २४ को राजेन्द्र बुढालाई सोधपुछ गर्दा उक्त राती निज र निजको साथी ऐ. वतनको बर्ष २० को भुपेन्द्र बुढाले रुवस होटल अगाडिको एउटा पसलमा मदिरा सेवन गरी जाई स्थित राजेन्द्र बुढाको डेरामा जानको लागि हिँडेकोमा पार्कमोड स्थित प्रदेश सभा अगाडि निज कुलदीपलाई भेटाई निजले जाली जाने भनेपछि निजलाई समेत अगाडि बसाई नैनादेवी मन्दिर हुंदै चक्मेली बजारबाट शिवनगरको बाटो हुदै अगाडि बढेको र सोही क्रममा निजहरु बीच भाडाको बिषयमा विवाद हुँदा शिवनगरबाट जाई जाने सडकको कल्वट नजिक पुगेपछि कुलदीप गुप्ताले “नेपाली लोग” भनेर गाली गलौज गर्न थाले पछि निजहरु बीच हात हालाहाल हानाहान भएको र निज गुप्ता सडक छेउ नालीमा खसेपछि भुपेन्द्र बुढाले अटोमा रहेको काठको टुक्रा प्रहार गरी निजको हत्या गरेको ।
५. मादक पदार्थ सेवन गरेको अवस्थामा तत्कालको रीस आवेग थाम्न नसकी कुलदीपको हत्या गरेको निजहरुले स्वीकार गरेको ।
६.निज दुवैलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको ।
(वेद प्रकाश जोशी)
प्रहरी नायव उपरीक्षक
तथा प्रवक्ता

 


२७ फागुन २०७८, शुक्रवार १४:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु