गठबन्धन बैठकलगत्तै प्रधानमन्त्री देउवा ओली भेट्न बालकोटमा पुगे
बालुवाटारमा गठबन्धनको बैठक सकिएलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन्।
प्रधानमन्त्री देउवा ओली निवास आइपुगेको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए।
पाँच दलीय गठबन्धनको बालुवाटारमा बसेको तीन घण्टा लामो बैठकमा देउवा अमेरिकी सहायता परियोजना एमसीसी भोलिको संसद बैठकमा टेबल गर्ने अडान लिएका थिए।
तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पहिले संसद खुलाउन प्रतिपक्षीलाई मनाउनुपर्ने शर्त राखेका थिए।
गठबन्धनमा सहमति नभएपछि भोलिसम्मका लागि बैठक स्थगित गरेर देउवा बालकोट पुगेका हुन्।
५ फागुन २०७८, बिहीवार २१:३० बजे प्रकाशित












