सत्ता गठबन्धनको आजको बैठक निष्कर्षविहीन, अर्को बैठक शुक्रबार बस्दै
सत्ता गठबन्धनको बैठक भोलि पुनः बस्ने भएको छ । प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी टेबल गर्ने तथा बैठक निर्वाध सञ्चालन गर्नेलगायत विषयमा सहमति जुटाउन भोलि पुनः बैठक बस्ने भएको हो ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज साँझ बसेको बैठक निष्कर्षमा नपुगेपछि भोलि बिहान १० बजे पुनः बस्ने गरी बैठक सकिएको हो ।
आजको बैठकमा प्रतिनिधिसभाको बैठक बिनाव्यवधान सञ्चालन गर्ने तथा एमसीसी सम्झौता टेबल गर्नेबारेमा घनीभूत छलफल भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल सकारात्मक रहेको कार्कीले बताए ।
सत्ता साझेदार दलबीचको छलफल जारी रहेकाले भोलि बिहान १० बजे हुने बैठकले निर्णय गर्ने गरी आजको बैठक समाप्त भएको छ, कार्कीले भने ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले यही फागुन १६ गतेभित्र सम्झौता अनुमोदनका निम्ति गरेको आग्रहलाई समयमै पूरा गर्न नेतृत्वपङ्क्तिलाई अनुरोध गरेको कार्कीले जानकारी दिए ।
सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले प्रतिनिधिसभामा उक्त सम्झौता हिजो बुधबार टेबल गर्ने तयारी गरेको भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा शुक्रबारसम्मका लागि स्थगित गरिएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ, कांग्रेसका महामन्त्री गगनकुमार थापा, सोही पार्टीका नेताहरू कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का सहभागी थिए । त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का तर्फबाट अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाल तथा जनता समाजवादी पार्टी नेपालबाट बाबुराम भट्टराई बैठकमा सहभागी थिए ।
५ फागुन २०७८, बिहीवार २१:०६ बजे प्रकाशित












