एमसीसी देशको हितमा छैनः वाइसीएल ईन्चार्ज सापकोटा

नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसीएलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ ले एमसीसी देशको हितमा नभएको बताएका छन् । पार्टी संगठन निर्माणका क्रममा धनगढी पुगेका सापकोटाले बिहीबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार सम्मेलनमा एमसीसी देशको हितमा नभएको बताएका हुन् ।

सम्मेलनमा उनले एमसीसी देशको हितमा नभएका कारण माओवादी त्यसको विपक्षमा उभिएको बताएका हुन् । ‘एमसीसी चाहिदैन माओवादीले भनेको थिएन’ उनले भने । ‘नेपालका कानुन लागु हुने, नेपाल सरकारको निगरानी अनुगमन रहने गरी पास हुन लागेको भए माओवादीले विरोध गर्ने थिएन तर, अहिले नेपालको कानुनभन्दा माथी हुने गरी जसरी संसदबाट पास गराउने खेल भइरहेको छ माओवादी यसको विरोधमा हो ।’ उनले माओवादी अनुदान लिनुहुन भन्ने पक्षमा नरहेको प्रष्ट पारे ।

एमाले र काग्रेंसले विगतमा पनि विभीन्न राष्ट्रघाती काम गरिसकेको बताउँदै सापकोटाले फेरी एमसीसी संसदबाट पारित गराएर यी पार्टीले राष्ट्रघाती कदम चाल्न लागेको आरोप लगाए । ‘माओवादी केन्द्र सदन र सडकबाट एमसीसी को विरोधमा छ’ उनले भने । ‘सकेसम्म यो एमसीसी लाई टेबलनै हुन नदिने गरी हाम्रो पार्टी संघर्षमा छ ।’आफै संसदबाट पास गराउने गरी प्रस्ताव ल्याउने एमालेले अहिले मौन बसेको जस्तो नाटक देखाएर नेपाली जनतालाई दोहोरो चरित्र देखाएर ढाँट्न खोजेको सापकोटाले आरोप लगाए ।

‘पहिला संसदबाट पारित गर्नुपर्ने कुरा थिएन मन्त्रीपरिषदले पारित गरेका योजना नेपाल सरकारकै कानुन अनुसार रहन्थे तर एमालेले सदनबाटै पास गर्ने किसिमले बनाएको प्रस्तावका कारणनै यसमा अमेरिकाको कानुन लाग्ने छ’, उनले भने । ‘जवरजस्ती सदनबाट पास गरेमा जनतामा एमसीसी को मुद्धा लिएर जाने छौँ ।’
सदनबाट पास गराउने गरी एमाले सरकारलेनै प्रस्ताव ल्याएको र त्यसलाई रोक्न खोज्दा तत्कालिन सभामुख कृष्णबहादूर महरालाई हटाएको समेत उनको आरोप छ ।


५ फागुन २०७८, बिहीवार २०:१४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु