punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

१३ वर्षीय अशोक ३२ किलोमिटर यात्रा गरेर आउँछन् ब्याडमिन्टन खेल्न

Chaupati
safha napa

एउटा १३ वर्षीय बालक दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न कभर्डहल पुग्छभन्दा पत्यार लाग्न गाह्रो होला १ तर त्यो सत्य हो।

कञ्चनपुरको कृष्णपुरका अशोक सिंह धामीले दैनिक ३२ किलोमिटर सार्वजनिक यातायात चढेर ब्याडमिन्टन खेल्न महेन्द्रनगरस्थित कभर्डहलमा पुग्ने गरेका छन्।

दस वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका यहाँको कृष्णपुर नगरपालिका–५ सुदर्शनपुरका १३ वर्षीय धामी यतिबेला दिनहुँजसो ब्याडमिन्टन खेल्न सदरमुकाम महेन्द्रनगरस्थित कभर्डहलको ब्याडमिन्टन हलमा पुगिरहेका छन्।

‘दैनिक बस भाडा र अरू गरेर यहाँ खेल्न आउँदा रु तीन सय जति खर्च हुन्छ’, उनले भने, ‘पैसाभन्दा पनि खेलमा कसरी अगाडि बढ्ने भन्नेमा बढी ध्यान दिएको छु।’

आधा दशकभन्दा बढी समयदेखि प्रशिक्षकविहीन रहेको कञ्चनपुरमा ब्याडमिन्टनमा अशोकजस्तै धेरै नयाँ खेलाडीहरू बिचल्लीमा छन्। यहाँको महेन्द्रनगर, दैजी, झलारी र गुलरिया क्षेत्रमा दर्जनौँ नयाँ जुनियर खेलाडीहरू नियमित अभ्यासमा रहे पनि प्रशिक्षक भने देख्नसमेत पाएका छैनन्।

‘बिदाको बेला महेन्द्रनगरमा आफन्तको घरमा एक साता बसेर पनि कभर्डहलमा खेल्न आएँ’, धामीले भने, ‘कभर्डहलमा कमसेकम सिनियर दाइहरूसित खेल्ने र सिक्ने अवसर त मिल्छ।’

दार्चुलाबाट बसाइँ सरी बुबा पवनसिंह धामी परिवारसहित कृष्णपुर आएका धामीले सामाजिक सञ्जाल फेसबुकमा कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको पेजमा आफू ब्याडमिन्टन खेल्न चाहेको भनेर म्यासेज गरेको बताउँछन्।

‘सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका–२ बङ्कमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्ने रिप्लाई आयो’, उनले भने, ‘त्यसपछि सात किलोमिटरयता गरेर बङ्क खेल्न आउन थाले।’ वाणी बङ्क क्षेत्रमा एक महिना आउटडोर खेलेपछि राष्ट्रियस्तरको ब्याडमिन्टन खेल्न आफू चितवन गएको धामीको भनाइ छ।

उक्त प्रतियोगितामा सहभागितामा सीमित जस्तै भए पनि खेल्नमा अगाडि बढ्ने हौसला मिलेको उनको भनाइ छ। ‘टेलिभिजन र इन्टरनेसनलमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल हेर्न छुटाएको छैन’, धामीले भने, ‘घरपरिवारबाट पनि राम्रो सहयोग मिलेको भएर बस चढेर खेल्न महेन्द्रनगर पुग्छु।’

बुबा सशस्त्र प्रहरी बलबाट जागिर छाडेर वैदेशिक रोजगारीमा रहेको उनले बताए। गुलरियाको नगरपालिका र इलाका प्रहरी कार्यालय परिसरमा बाहिर ब्याडमिन्टन कोर्ट छन्। ‘बाहिर पानी आउने, हावा आउँछ खेल्न गाह्रो हुन्छ’, उनले भने, ‘अर्को वर्ष काठमाडौं जाने उतै पढ्ने र खेल्ने सोच बनाएको छु।’

गुलरियाको सरस्वती विद्या निकेतनमा कक्षा ७ मा अध्ययनरत धामी पढाइमा समेत अब्बल विद्यार्थी हुन्। ब्याडमिन्टन खेलका माध्यमबाट मुलुककै परिचित खेलाडी बन्ने आफ्नो योजना रहेको धामीको भनाइ छ।

जिल्ला ब्याडमिन्टन सङ्घ कञ्चनपुरका उपाध्यक्ष दिलबहादुर धामीले अस्थायी रुपमा प्रशिक्षक यहाँ ल्याउन पहल गरिए पनि माथिल्लो निकायबाट सुनुवाइ नभएको बताए। ‘कञ्चनपुर ब्याडमिन्टनको उर्वरभूमि हो तर यहाँ प्रशिक्षक खटाउन राज्यले ध्यान दिएको छैन’, उनले भने, ‘प्रदेशदेखि केन्द्रसम्म पहल गर्‍यौँ तर आश्वासन मात्रै पायौँ।’

उनले सङ्घले समय-समयमा प्रतियोगिताहरू आयोजना गरेर ब्याडमिन्टनको गतिविधिहरू बढाइरहेको बताए। ‘यहाँका खेलाडीहरू विश्व स्तरसम्म पुग्दा पनि एउटा प्रशिक्षक पाउँदैन भने योभन्दा दुःखको कुरो अरू के हुन्छ’, उनले भने,’अहिले खेलाडी प्रशिक्षकविहीन अवस्थामा अभ्यास गर्दैछन्।’


२२ माघ २०७८, शनिवार १६:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु