Churya gapa
Churya gaupalika
Churya

एकता र मेलमिलापको नीतिलाई आत्मसाथ गर्नुपर्नेमा जोड

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताले एकताबद्ध काँग्रेस निर्माणका लागि राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिएका छन् । ४६औं राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुक्रबार कैलालीको कैलारी गाउँपालिकास्थित कोइलीही ताल परिसरमा आयोजित पालिकास्तरीय भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने वक्ताहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथीसमेत रहेका काँग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्य राजसमझ चौधरीले काँग्रेस एकता र मेलमिलापको जगमा अघि बढिरहेको बताए । उनले यो नीतिकै जगमा रहेर पार्टीलाई परिवर्तनशिल बताउँदै लैजानुपर्ने बताए । ‘बीपीले थालेको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि पार्टीका लागि उतिकै सान्दर्भिक छ,’ उनले भने, ‘सोही एकता र मेलमिलापको नीतिलाई अँगाल्दै जानुपर्छ ।’

पार्टीको कैलारी गाउँपालिका सभापति कृष्णप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा महाधिवेशन प्रतिनिधिहरु गणेश देउवा, पुरन चौधरी, दिपेन्द्र बम, माया चौधरी, अनिता चौधरी, खेम डगौरा, बाधुराम चौधरी, पार्टीको कैलाली जिल्ला सह–सचिव कलेसु चौधरी, जिल्ला सदस्य केशव मिश्र, तरुण दलका नेता एवम् पार्टीको क्षेत्र नम्बर ५ का क्षेत्रीय सदस्य अमृत बिसीलगायतले मन्तव्य राखेका थिए ।

२०३३ पुस १६ गते अर्थात आजकै दिन वीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरुले ​राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ निर्वासित जीवन त्याग गरी स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेसले हरेक वर्ष पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै आएको छ ।

चुनावमा सहयोग गर्न आग्रह
नेपाली काँग्रेस कैलालीको यही पुस २७ गतेदेखि हुने जिल्ला अधिवेशनमा विभिन्न पदका आकांक्षी उम्मेदवारले राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित भेटघाट कार्यक्रमलाई सदुपयोग गरेका छन् ।

कार्यक्रममा जिल्ला पार्टी सभापतिका आकांक्षी गणेश देउवा, सचिवका उम्मेदवार अमृत बिसी र केशव मिश्र पनि सहभागी भएका थिए । आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्ला दौडामा रहका नेताहरुका लागि दिवसको अवसरमा आयोजित भेटघाट कार्यक्रम फाइदाजनक भयो ।

कार्यक्रममा मन्तव्य राख्नेक्रममा पदका आकांक्षीले जिल्ला अधिवेशनमा आफूलाई सहयोग गर्न अपिल गरे । कार्यक्रममा मन्तव्य राख्दै सभापतिका आकांक्षी देउवाले काँग्रेसलाई सुदृढ गर्ने उद्देश्यसहित आफू यस पटक पनि पार्टी सभापतिमा उम्मेदवारी भएकाले सहयोग गर्न आग्रह गरे । उनी यसअघिको अधिवेशनमा पनि सभापतिका लागि निर्वाचनमा होमिएका थिए ।

त्यस्तै, सचिवका दाबेदार बिसीले पनि मन्तव्यका क्रममा आफू सचिवको उम्मेदवार बन्ने भएकाले सबैलाई सहयोग गर्न अनुरोध गरे । एकताबद्ध काँग्रेस निर्माणका लागि आफू सक्रिय रहँदै आएकाले पार्टीलाई सबल र सुदढ गर्न आफ्नो सचिवमा उम्मेदवारी रहने उनले बताए । उनले हरेक नेता कार्यकर्ताको भावना अनुरुप काँग्रेसलाई मजबुद बनाउन लागिपर्ने बताए ।

सचिवका अर्का आकांक्षी मिश्रले पनि आफू जिल्ला सचिवको उम्मेदवार बन्न लागेकाले सबैसंग सहयोग गर्न आग्रह गरे । उनले काँग्रेस कैलालीलाई थप बलियो र एकताबद्ध बनाउन सक्रिय रहने बताए ।

काँग्रेसको नयाँ विधान अनुसार जिल्लामा दुईवटा सचिव रहने व्यवस्था गरिएको छ । काँग्रेस कैलालीको चुनावको मिति नजिकिँदै गर्दा कैलाली काँग्रेसमा चुनावी माहोल तातिदै गएको छ ।


१६ पुस २०७८, शुक्रवार २३:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु