सडक अवरुद्व हुँदा बिरामीलाई समस्या

गत असारदेखि अवरुद्व पारिबगर खण्डेश्वरी जोड्ने सडक अवरुद्ध हुँदा बिरामीलाई उपचार गर्न समस्या भएको छ। अपिहिमाल गाउँपालिका–५ मकरीगाडसम्म सडक सञ्चालन हुँदा राहत पाएका बिरामी अपिहिमाल–५ तिम्लामा सडक अवरुद्व हुँदा मारमा परेका छन्।

बिरामीलाई डोको र स्टेचरमा बोकेर अस्पताल लैजानु परेको अपिहिमाल–३ का विरा रोकायाले बताए। बिरामीलाई गोकुलेश्वर, दार्चुला सदरमुकाम खलङ्गा र धनगढी लैजान घण्टौँ बोक्नुपर्ने अवस्था छ। ठेकेदारले सडक पुनःनिर्माणमा चासो नदिँदा समस्या भोग्नुपरेको छ। “नजिक अस्पताल छैन्, जटिलखालका बिरामीलाई अन्यत्र लैजान समस्या छ”, रोकायाले भने।

खण्डेश्वरीका धीरज बोहरा लामो समयदेखि सडक पुनःनिर्माण नगर्दा बिरामीले समयमै उपचार पाउन नसकेको बताउछन्। सडक खुलाउन ढिलाइ गर्दा यहाँका बासिन्दालाई सास्ती भएको छ। उक्त क्षेत्रमा सुविधा सम्पन्न अस्पताल छैनन्।

सरकारले घोषणा गरेको दश श्ययाको अस्पताल निर्माण हुनसकेको छैन्। अहिले स्वास्थ्यचौकीका भरममा उपचार गर्नुपरिरहेको अपिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए। सडक पुनःनिर्माण नहुँदा गाउँपालिकाले खरिद गरेको एम्बुलेन्ससमेत प्रयोगविहीन बनेको छ। सो एम्बुलेन्स मकरीगाडमै थन्किएको छ।


१५ कात्तिक २०७८, सोमवार १५:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु