दुई वर्षदेखि भन्सारमै थन्किए सवारीसाधन
लिलाम प्रक्रिया अगाडि बढाउन नसक्दा कञ्चनपुर भन्सार कार्यालयमा लाखौं मूल्यका मोटरसाइकललगायत सवारीसाधन दुई वर्षदेखि थन्किएका छन् । कोरोना संक्रमणका कारण कार्यालयले सवारी र ढुवानीका साधनको लिलाम प्रक्रिया अगाडि बढाउन नसकेको हो ।
बढ्दो कोरोना संक्रमणका कारण मूल्यांकन समितिको बैठकनै राख्न नसकिएको भन्सार अधिकृत परमानन्द जोशीले जानकारी दिए ।‘भन्सार कार्यालयमा लिलाम गर्नुपर्ने सवारी साधनको मूल्यांकन गर्न मेकानिकल इञ्जिनियर छैनन्’, उनले भने, ‘अन्य कार्यालयबाट तलबको व्यवस्था गरी इञ्जिनियर झिकाउनुपर्ने हुन्छ । इञ्जिनियरको फुर्सद नहँुदा सवारीसाधनका चेसिज मोडललगायत भिडान हुन पाएको छैन ।’
उनका अनुसार हरेक गाडीको मोडल भिडानका लागि सम्बन्धित एजेन्सी वा कम्पनीमा पठाउनुपर्छ । कति वर्ष पुरानो हो, उत्पादन भएको वर्ष कुन हो, सो कुरा पत्ता लगाइसकेपछि इञ्जिनियरले सवारीसाधनको मूल्यांकन गरी मूल्य निर्धारणपछि मात्रै लिलाम प्रक्रिया अगाडि बढ्छ ।
भन्सार कार्यालयमा ३०० मोटरसाइकल र १५ बढी जीप, कार, ट्रक, भ्यानलगायत साधन लिलामको पर्खाइमा छन् । दुईरतीन महिनाभित्रै भन्सार कार्यालयमा रहेका सवारीसाधनको लिलाम प्रक्रिया अगाडि बढाइने बताइएको छ । रासस
७ कात्तिक २०७८, आइतवार ०९:१४ बजे प्रकाशित












