प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने प्रयोजनको लागि आज (आइतबार) दिउँसो साढे १२ बजे प्रदेशसभा बैठक बस्न लागेको हो।
मुख्यमन्त्री आचार्यले गएको २५ असोजमा विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा पेश गरेका थिए।

नेकपा एमालेको विरोधका कारण प्रदेशसभामा मतदान प्रक्रिया पछि सरेको थियो। मुख्यमन्त्रीको प्रस्तावमा गएको शुक्रबारै मतदान गर्न विपक्षी गठबन्धनले माग गरेका थिए। तर, सभामुख र एमाले त्यसका लागि तयार नभएपछि त्यो प्रक्रिया आजका लागि सारिएको हो।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। एमाले विभाजन भएको भोलिपल्ट (९ भदौमा) आचार्य मुख्यमन्त्री बनेका थिए। त्यतिबेलै अल्पमतमा परेपनि प्रक्रिया पछि धकेलिँदा मुख्यमन्त्री आचार्य अझै पदमा कायम छन्।

मुख्यमन्त्री बनेदेखि नै अल्पमतमा परेपनि आचार्यले विश्वासको मत लिन आनाकानी गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ।प्रदेश नम्बर १ को प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन्।

तर, सभामुख र एक जना फरार सांसदको संख्या घटाउँदा प्रदेशसभामा एमालेका ३९ जना मात्रै सांसद हुन्छन्। सरकारी छाप र हस्ताक्षर किर्ते गरेको अभियोगमा उच्च अदालत विराटनगरले एक वर्ष कैद र १४ हजार पाँच सय ८३ रुपैयाँ जरिबानाको सजाए सुनाएपछि सांसद गुलेफुन खातुन फरार छिन्।प्रदेश १ को प्रदेशसभामा कुल सांसद संख्या ९३ छ।

सरकार बनाउनका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ।प्रतिपक्षी गठबन्धनसँग भने ५० सांसद संख्या सजिलै पुग्ने देखिन्छ।प्रदेशसभामा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका १ जना सांसद छन्।

पैदेश १ मा मुख्यमन्त्री आचार्यको सरकार ढालेर एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने विपक्षी गठबन्धनको तयारी छ।


७ कात्तिक २०७८, आइतवार ०९:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु