आज देशका केही ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने
काठमाण्डौ उपत्यका र आसपासको क्षेत्रको मौसम धुम्मिएको छ । काठमाण्डौको मौसम आज दिनभर नै पूर्ण रुपमा खुल्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिए ।
उनका अनुसार उपत्यकामा आज थोरै समय मलिनो घाम लागे पनि धेरै समय बादल नै लाग्नेछ ।यस्तै, आज देशका धेरैजसो ठाउँमा बादल लागेर मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि सामान्य पानी पर्ने सम्भावना छ ।
ठूलो पानी पर्ने वा लगातार झरी पर्ने सम्भावना भने नरहेको मौसमविद् नगरकोटीले बताए । आज हिमाली क्षेत्रका केही ठाउँमा हल्का हिमपातको समेत सम्भावना रहेको छ ।
७ कात्तिक २०७८, आइतवार ०९:०२ बजे प्रकाशित












