मौसम बदली : केही ठाउँमा सिमसिम पानी
काठमाण्डौ उपत्यकाका केही ठाउँमा अहिले सिमसिम पानी परिरहेको छ । दिउँसोसम्म नै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् गङ्गा नगरकोटीका अनुसार अहिले देशका अरु ठाउँको मौसम बद्ली भएर प्रदेश–१, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित पानी परिरहेको छ । दिउँसो पनि यी प्रदेशका धेरैजसो ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
भारतको बिहारमा बनेको न्यूनचापीय रेखाको प्रभावका कारण यी ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्नुका साथै अरु ठाउँको मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना छ । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बद्ली भएर देशका केही ठाउँमा सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।
यो वर्षको मनसुन आजदेखि बाहिरिने मिति भए पनि केही दिन मनसुन रहिरहने उनले बताए ।मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनुका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा आउने क्रम रोकिनुपर्ने भएकाले अहिलेसम्म त्यो अवस्था नभएको उनले बताए । उनका अनुसार अब ठूलो पानी पर्ने सम्भावना छैन ।
१६ असोज २०७८, शनिवार ०९:२२ बजे प्रकाशित






























