पैतीस वर्षपछि सहजपुर–बोगटान सडकको ट्रयाक जोडियो
२०४३ सालदेखि निर्माणकार्य सुरु भएको सहजपुर बोगटान सडक निर्माण सुरु गरिएको पैतीस वर्षपछि ट्रयाक जोड्ने काम भएको छ । कैलालीको सहजुरदेखि डोटीको बोगटान फुड्सिल गाउँपालिका– १ सिमचौरसम्मको ८४ किलोमिटर सडक सञ्चालनमा आएको छ ।
सडक सञ्चालनमा आएसँगै डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान फुड्सिल र बडिकेदार गाउँपालिकाका स्थानीयलाई यातायातमा सहज भएको छ । डोटीको बडीकेदार गाउँपालिका –५ लानाकेदारेश्वर र बोगटान फुड्सिल गाउँपालिका –१ सिमचौरबीचमा बाँकी रहेको करिब ५ किलोमिटर सडकको निर्माणकार्य सम्पन्न भएसँगै सडक जोडिएको हो ।
सुदुरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा राखेर निर्माण कार्य अगाडि बढाएसँगै सडक जोडिएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्ट, भौतिक पुर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी लगायतद्वारा सडकको अनुगमन कार्य सम्पन्न भएको छ ।
सडक अनुगमनका क्रममा मुख्यमन्त्री भट्टले निर्वाचनको समयमा स्थानीयसँग गरेको बाचाअनुसार आफूले सहजपुर बोगटान सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।मुख्यमन्त्री भट्टले भनने, “यस क्षेत्रका जनताका लागि यो सडक अति आबश्यक भएपनि निर्माणले पूर्णता पाउन सकेको थिएन, प्रदेश गौरवको योजना अन्तर्गत हामीले कार्य अगाडि बढाएसँगै काम सम्पन्न भएको छ ।”
२०३८ सालमा भएको ‘राष्ट्रिय ‘पञ्चायत’ निर्वाचनदेखि यो सडकको विषयले चर्चा पाउन थालेको थियो । कैलालीको सहजपुरदेखि डोटीको अत्तरकाँडासम्म ४६ किलोमिटर सडक कालोपत्रेको काम भइरहेको छ । अत्तरकाँडादेखि सिमचौरसम्मको ३८ किलोमिटर सडक सञ्चालनमा आएको छ ।
डोटीको दक्षिणी क्षेत्र जोड्ने सबैभन्दा ठूलो सडक सहजपुर–बोगटान सडकले पूर्णता पाएपछि बोगटानमा खुसी छाएको छ । सडक कैलालीको सहजपुरदेखि डोटीको बिनिनगर, अत्तरकाँडा, सिमचौर,चवराचौतारा, गगुुडा, तिखात्तर, बासुदेबी, वायल, रानागाउँ हुँदै राजपुर जोडिएको छ ।
बोगटान सडक निर्माण कार्यक्रम अन्तरगत डबल कटिङ, पर्खाल निर्माण, नाली निर्माणको काम भइरहेको पुर्वाधार कार्यालय डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र खत्रीले बताए । खत्री भने “यो ट्रयक पहिले नै जोडिन्थ्यो रक (बलियो चट्टान) लागेपछि ढिला भयो ।’ सुदूरपश्चिम प्रदेश सरकारको ३ करोड ८३ लाख रुपियाँको लागतमा ट्रयाक जोड्ने कार्य सम्पन्न भएको हो ।
यसरी शुरु भयो
२०१५ सालपछि धनगढीबाट दिपायलका लागि सडक निर्माणकार्य सुरु भयो । ‘धनगढी–दिपायल (डिडी) सडकको नामले काटिन सुरु भएको सडक पञ्चायतकालमा तत्कालीन डडेलधुराका नेताहरूको पहुँचका आधारमा ‘धनगढी–डडेलधुरा–दिपायल (डिडीडी) सडक नामाकरण गरेर निर्माण कार्य सुरु गरियो । सडकले बोगटान क्षेत्र जोड्न सकेन र डडेल्धुरा भएर दिपायलमा सडक पुग्यो ।
२०४३ सालमा कैलालीका पहाडी क्षेत्रका सहजपुर र निङालीसहित डोटीका साबिकका १० गाविस जोडेर दिपायल पुग्नेगरी सडकको निर्माण कार्य सुरु भयो । तत्कालीन जिल्ला विकास समिति डोटीका सभापति हालका नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य भरतबहादुर खड्काले सडकको शिलान्यास गर्नुभएको थियो ।गोरखापत्रबाट
१५ असोज २०७८, शुक्रवार १६:०९ बजे प्रकाशित






























