हुम्लामा चीनसँगको सीमा समस्या अध्ययन समितिले बुझायो प्रतिवेदन

नेपाल–चीन सीमा सम्बन्धमा हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ।आइतबार गृहमन्त्री बालकृष्ण खाणलाई समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले मन्त्रालयमा प्रतिवेदन बुझाएका हुन्।

समितिले स्थलगत अध्ययन गरेर सत्य तथ्य पत्ता लगाइ तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न पहल गर्ने मन्त्री खाणले प्रतिबद्धता जनाए।

‘यहाँहरूले स्थलगत अध्ययन गरी हुम्लाको लिमी लाप्चादेखि हिल्सासम्मको सीमाबारे सत्य तथ्य जानकारी समेटेर प्रतिवेदन बनाउनु भएको छ। यसले मुलुकका अन्य स्थानमा रहेका सीमाबारे पनि अध्ययन गर्न बाटो खुलेको छ,’ प्रतिवेदन बुझ्दै मन्त्री खाणले भने, ‘अध्ययनमा यहाँहरूले औल्याउनु भएका विषयबस्तु कार्यान्वयन गर्न सरकारले पहल गर्नेछ।’

मन्त्री खाणले विकट स्थानमा पुगेर सहज रुपमा काम सम्पन्न गरेकोमा अध्ययन टोलीलाई धन्यवाद दिए।प्रतिवेदनबारे संक्षिप्त जानकारी दिँदै अध्ययन टोलीका संयोजक सहसचिव आचार्यले निष्कर्ष र सुझावबारे मन्त्री खाणलाई जानकारी गराएको गृह मन्त्रीको सचिवालयले जनाएको छ।

टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक किशोरकुमार श्रेष्ठ सदस्य थिए।

मन्त्रिपरिषद् बैठकले भदौ १६ गते सीमा अध्ययनका लागि समिति बनाएको थियो। तर यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले भने चीनसँग कुनै किसिमको सीमा विवाद नरहेको जनाएको थियो।


१० असोज २०७८, आइतवार १८:४२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु